काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले आयोजना गर्न लागेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम बहिष्कार गर्न पत्रकारलाई आह्वान गरिएको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले सांसद खत्रीले संसदमा पत्रकार र प्रेस जगतप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनको कार्यक्रममा सहभागी नहुन पत्रकारलाई आह्वान गरेका हुन्। यस विषयमा महासंघका पदाधिकारी तथा सदस्यहरूबीच छलफल भइरहेको सुवेदीले बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा खत्रीले प्रेस काउन्सिल नेपालका अध्यक्षलाई केही पत्रकार नेताले ‘झ्यालबाट फ्याँक्ने’ भन्दै धम्की दिएको दाबी गरेका थिए। त्यस क्रममा उनले यस्तो भाषा प्रयोग गर्नेहरू पत्रकार हुन् कि गुण्डा भन्दै प्रश्न गरेका थिए।

खत्रीले पत्रकारका नाममा धम्की दिनेहरूलाई ‘असनका साँढे’ बन्ने छुट नभएको टिप्पणी गर्दै सरकारी विज्ञापन वितरणमा हुने अनियमितता रोक्नुपर्ने बताएका थिए। सञ्चारमाध्यम सरकारी विज्ञापनमा मात्र निर्भर भएर सञ्चालन हुन नहुने उनको धारणा थियो।

यसैबीच, खत्रीले शुक्रबार बिहान भक्तपुरको सूर्यविनायकस्थित क्लब बागमतीमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। तर पत्रकारहरूले कार्यक्रम बहिष्कार गर्ने जानकारी पाएपछि कार्यक्रम स्थगित भएको जानकारी आफूले पाएको सुवेदीले बताएका छन्।

नेपाल पत्रकार महासंघले पनि खत्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना गर्न आग्रह गरेको छ। महासंघले प्रेस तथा पत्रकारविरुद्ध अपमानजनक वा धम्कीपूर्ण अभिव्यक्ति स्वीकार्य नहुने जनाएको छ।

यसअघि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघबीच पनि लोककल्याणकारी विज्ञापनसम्बन्धी विवादलाई लिएर सार्वजनिक रूपमा मतभेद देखिएको थियो। महासंघले काउन्सिलका चार सदस्यले जारी गरेको व्यक्तिलक्षित विज्ञप्ति फिर्ता लिन माग गरेको थियो।