विराटनगर— नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन सम्पन्न गराउने जिम्मेवारी जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई दिएको छ।
यसअघि क्षेत्रीय अधिवेशनको संयोजन क्षेत्रीय सभापति देवराज तामाङले गर्दै आएका थिए। तर, बुधबार सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा अधिवेशनका क्रममा विवाद र झडप भएपछि कांग्रेसले मण्डललाई नयाँ जिम्मेवारी दिएको हो।
कांग्रेस केन्द्रीय कार्यालयले मण्डललाई पठाएको पत्रमा जिल्ला कार्यसमितिको निर्णय तथा पार्टी विधानबमोजिम १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न विशेष जिम्मेवारी तोकिएको उल्लेख छ। निर्वाचन समितिसँग समन्वय गरी बाँकी प्रक्रिया पूरा गर्न पनि मण्डललाई भनिएको छ।
बुधबार मनोनयन दर्ताका क्रममा विवाद बढेपछि झडप हुँदा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मी र समुन्द्र पोखरेललगायत घाइते भएका थिए। घटनापछि मनोनयनसहित निर्वाचन प्रक्रिया रोकिएको थियो।
झडपको कारणबारे भने कांग्रेसभित्रै फरक–फरक दाबी छन्। केही नेताले योजनाबद्ध आक्रमण भएको आरोप लगाएका छन् भने देवराज तामाङले आरोप अस्वीकार गर्दै क्रियाशील सदस्यता र अधिवेशनसम्बन्धी विवादका कारण धकेलाधकेल र तोडफोडको अवस्था सिर्जना भएको दाबी गरेका छन्।
अब सञ्जयकुमार मण्डलको संयोजनमा मोरङ–६ को रोकिएको क्षेत्रीय अधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ।


