विराटनगर — नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थल बुधबार रणभूमिमा परिणत भएको छ। सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ता चलिरहेको बेला सुरु भएको विवाद उग्र बन्दा भीषण झडप भएको हो।

झडपका क्रममा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदारसहित आधा दर्जनभन्दा बढी नेता-कार्यकर्ताहरू गम्भीर घाइते भएका छन्। कार्यक्रमको अतिथिका रूपमा पुगेकी कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलाले आफूहरूले पनि मुस्किलले भागेर ज्यान जोगाएको बताएकी छिन्।

कसरी सुरु भयो झडप?

प्रत्यक्षदर्शी एक क्षेत्रीय प्रतिनिधिका अनुसार प्रतिनिधिको नामावलीमा एक महिलाको नाम छुटेको विषयबाट विवादको सुरुवात भएको थियो। माइन्यूट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको भन्दै कुरा राखेपछि बाहिरबाट आएका केही समूहले तोडफोड सुरु गरेका थिए। हेर्दाहेर्दै स्थिति नियन्त्रण बाहिर पुग्यो र हलभित्र रहेका करिब ५० देखि ६० वटा कुर्सीहरू तोडफोड गरिए। त्यसपछि निर्वाचन प्रक्रिया पूर्ण रूपमा रोकिएको छ।

'गाडीबाट थुतेर फलामको रडले मरणासन्न बनाइयो' : डा. डिला संग्रौला

घटना लगत्तै आक्रोश व्यक्त गर्दै सहमहामन्त्री डा. डिला संग्रौलाले क्षेत्रीय सभापति देवराज तामाङको समूहले योजनाबद्ध रूपमा सांघातिक आक्रमण गराएको गम्भीर आरोप लगाएकी छिन्।

डा. संग्रौलाका अनुसार सुरुमा मदिरा सेवन गरेका केही व्यक्तिहरूले होहल्ला गरेर कार्यक्रम बिथोल्न खोजेका थिए। पछि फलामको रडसहित आएका युवाहरूले आफ्नै पार्टीका नेता-कार्यकर्तामाथि सांघातिक हमला गरे।

"क्षेत्रीय सभापतिका उम्मेदवार तथा पूर्व माननीय चुमनारायण तबदारलाई गाडीबाटै तानेर निकालेर फलामका भाटाले मरणासन्न हुने गरी कुटपिट गरियो," डा. संग्रौलाले भनिन्, "चेतराज रेग्मी, समुन्द्र पोखरेल लगायतका साथीहरू रक्ताम्मे भएका छन्। यस्तो अमानवीय र लज्जास्पद हर्कत आफ्नै पार्टीभित्र हुनु अत्यन्तै दुःखद हो।"

डा. संग्रौलाले घटनाको घोर भर्त्सना गर्दै आक्रमणमा संलग्न रहेको आरोपमा क्षेत्रीय सभापति देवराज तामाङलाई तुरुन्त पदबाट बर्खास्त गरी कानुनी कारबाही गर्न माग गरेकी छिन्।

तर, स्थानीय स्तरमा भने अवस्था फरक छ:

राजनीतिक स्तरमा तामाङमाथि यति गम्भीर आरोप लागिरहँदा, सुन्दरहरैँचाका स्थानीय बासिन्दा र उनका शुभचिन्तकहरू भने यो कुरा पत्याउन तयार छैनन्। देवराज तामाङलाई उनीहरू एक अत्यन्तै मनकारी र परोपकारी सामाजिक अभियन्ताका रूपमा चिन्छन्।

स्थानीय सरकारले क्षेत्राधिकारको बहाना देखाएर पन्छिएको बेला, सुन्दरहरैँचास्थित पुलचोक र बाह्रबिके सिसौघारी सडक खण्डका ज्यानमारा खाल्डाखुल्डी आफ्नै व्यक्तिगत खर्चमा पुरेेर देवराजले धेरैको ज्यान जोगाएका थिए। सधैं जनताको सुखदुःखमा साथ दिने, दुर्घटनाका घाइतेलाई आफ्नै पहलमा अस्पताल पुर्‍याउने र संकटको बेला भरोसाको केन्द्र बन्ने निस्वार्थ व्यक्तिले यस्तो हिंसात्मक काम गर्नै नसक्ने उनीहरूको दाबी छ।

जनताको मन जितेका देवराज जस्ता असल व्यक्तिलाई राजनीतिमा कमजोर बनाउन र फसाउन यो एउटा सुनियोजित 'राजनीतिक षड्यन्त्र' मात्र भएको उनीहरूका शुभचिन्तकहरूको पक्का विश्वास छ।

घाइतेहरूको नोबेलमा उपचार, अधिवेशन अन्योलमा

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार झडपलगत्तै सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको छ।

झडपमा घाइते भएकाहरूको विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको टाउको फुटेकाले सीटी स्क्यान भइरहेको र केहीको हातखुट्टा भाँचिएको बताइएको छ।

मनोनयन प्रक्रिया नै बीचैमा रोकिएपछि अब मोरङ क्षेत्र नम्बर ६ को निर्वाचन कहिले र कसरी सुरु हुन्छ भन्ने विषयमा अन्योल सिर्जना भएको छ।