विराटनगर— तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगरका एक व्यक्ति प्रहरी हिरासतमै अचेत अवस्थामा भेटिएका छन्।

विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विराटनगर–६ सरोचियास्थित एक घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा कोइरालासहित आठ जनालाई पक्राउ गरिएको थियो। राति करिब ११ः३० बजे पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो।

मंगलबार बिहान करिब ७ः३० बजे हिरासतमा रहेका साथीहरूले चिया खान उठाउन खोज्दा कोइराला नबोलेपछि तत्काल कोशी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याइएको हो।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले कोइराला अहिले पनि अचेत अवस्थामा उपचाररत रहेको बताए। चिकित्सकका अनुसार उनको यसअघि टाउकाको शल्यक्रिया भएको पाइएको छ। उनी अचेत हुनुको कारण भने खुलिसकेको छैन।

यसै घटनामा पक्राउ पर्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया दुई तला माथिबाट हामफाल्दा घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको र विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ताससहित ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको छ। पक्राउ परेका आठ जनामध्ये कोइराला र मुखियाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।