विराटनगर— विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक नेपाली युवकलाई दशगजाबाट तानेर भारततर्फ लग्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

विराटनगर महानगरपालिका–२ का २८ वर्षीय अनुज कामतलाई शनिबार सीमावर्ती दरैया क्षेत्रमा एसएसबीका जवानले कुटपिट गरेको बताइएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कामतको दशगजामा एसएसबीका जवानसँग विवाद भएको थियो। विवादका क्रममा कामतले एक जवानमाथि ढुंगा प्रहार गरेको र ढुंगा लागेपछि ती जवान नेपालतर्फ आएको बताइएको छ।

त्यसपछि दशगजा पार गरेर नेपालतर्फ आइसकेका कामतलाई एसएसबीका जवानले पछ्याउँदै नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीको भनाइ छ। उनलाई तानेर पुनः दशगजा पारि लगिएको र लाठीले कुटपिट गरिएको बताइएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीसमेत उपस्थित थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा नेपाली सुरक्षाकर्मीले सुरुमा कामतलाई रोक्न खोजेको देखिए पनि एसएसबीका जवानले नियन्त्रणमा लिएर कुटपिट गर्दा तत्काल प्रभावकारी हस्तक्षेप भएको देखिँदैन।

घटनापछि एसएसबीले कामतलाई केही समय नियन्त्रणमा राखेर नेपाल प्रहरीको जिम्मा लगाएको थियो। इलाका प्रहरी कार्यालय रानीले उनलाई एक दिन नियन्त्रणमा राखी आइतबार आफन्तको जिम्मा लगाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कामत लागुऔषध प्रयोगकर्ता हुन्। एसएसबीसँग विवाद हुँदा पनि उनी सामान्य अवस्थामा नरहेको प्रहरीको भनाइ छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कामतलाई आइतबार श्रीमतीको रोहबरमा घर पठाइएको हो।