काठमाडौँ—नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारको कार्यशैली र कानुनी शासनको उपहास गरिएको भन्दै संसद्मा कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकको विशेष/शून्य समयमा बोल्दै सांसद दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा बिना पुर्जी पक्राउ गरिएको घटनाप्रति आक्रोश व्यक्त गर्दै सरकारसँग जवाफ माग गरेका हुन्।
बैठकमा बोल्दै सांसद दुलालले सरकारले असोज १० गते मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर गैरकानुनी राज्यको दृष्टान्त प्रस्तुत गरेको दाबी गरे। बिना पक्राउ पुर्जी र बिना कारण पक्राउ गरी सरकारले नयाँ 'स्टन्ट' देखाएको टिप्पणी गर्दै उनले देश कानुनी राज्यको बाटोमा छ कि अराजकताको बाटोमा भनी प्रश्न गरे।
पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा 'थ्रेट' रहेका कारण पक्राउ गरिएको भन्ने विषयप्रति व्यङ्ग्य गर्दै उनले भने, "सुरक्षा थ्रेट दिनेलाई पक्राउ गरिन्छ कि थ्रेट हुनेलाई? यसको जवाफ सरकारले दिनुपर्छ। कतै सरकारी जेन्जी नै सुरक्षा थ्रेट त होइनन्?"
सरकारले पाँच वर्षको लाइसेन्स पाएको भरमा देशलाई बिर्ता जसरी चलाउन नसक्ने चेतावनी दिँदै उनले सरकारको दादागिरी अन्त्य हुनुपर्ने बताए। विगतमा सरकार गठन भएकै रात पूर्वप्रधानमन्त्रीलाई घरमै घेराउ गरेर पक्राउ गरिएको स्मरण गराउँदै उनले अहिले पनि पूर्वप्रधानन्यायाधीशलाई १२ घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेर बिना कारण छाडिनुले सरकारको नियत प्रष्ट पारेको आरोप लगाए।
सभामुखमार्फत सरकारमाथि प्रश्न तेर्स्याउँदै सांसद दुलालले भने, "के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याह्नमा होस आउँछ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ।" उनले देशलाई संवैधानिक र कानुनी बाटोबाटै सञ्चालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।


