विराटनगर—मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित कानेपोखरी–रंगेली सडकखण्डमा आइतबार भएको सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम घाइते भएकी छन्।

प्रहरीका अनुसार बिहान करिब ११ः२० बजे प्र १–०२–००५ ह १७३४ नम्बरको सिटी सफारीले प्र १–०२–०५० प ९०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालकसमेत रहेकी ५५ वर्षीया अध्यक्ष इङ्नामको ढाड र दाहिने खुट्टामा चोट लागेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

घाइते इङ्नामलाई तत्काल उपचारका लागि कानेपोखरी नगर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न सिटी सफारी प्रहरीले नियन्त्रणमा लिएको छ। सिटी सफारी चालक कानेपोखरी–२ का हेन्जुल सोरेन भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्त नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।