काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरणमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले सरकारको कदमप्रति प्रश्न उठाएकी छन्।
जबरालाई पक्राउ गर्दा कानुनी प्रक्रिया र प्रमाणको आधार स्पष्ट हुनुपर्ने बताउँदै दर्शनाले आरोपकै भरमा पक्राउ गर्न नहुने धारणा राखेकी हुन्।
‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ। तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ। कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ। आरोप मात्र पर्याप्त हुँदैन; कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ,’ उनले भनेकी छन्।
उनले राज्यले अधिकार प्रयोग गर्दा पनि विधि र प्रमाणको पालना गर्नुपर्ने बताएकी छन्। जबराको सुरक्षालाई समेत गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ।
जबरालाई प्रहरीले हिजो राति निवासबाट पक्राउ गरी केही घण्टापछि ‘सुरक्षाका लागि’ भन्दै पुनः घरमै पुर्याएर छाडेको थियो। घटनालाई लिएर प्रतिनिधि सभा बैठकमा समेत प्रश्न उठेको छ।


