विराटनगर— विराटनगर बसपार्क क्षेत्रका होटलमा प्रहरीले गरेको आकस्मिक अनुगमन तथा छापाका क्रममा १७ जना युवतीलाई नियन्त्रणमा लिएको छ।

होटलमा कानुनविपरीत गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले केही समयदेखि निगरानी गर्दै आएको थियो। सोही क्रममा सोमबार विभिन्न होटलमा एकैपटक अनुगमन गर्दा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका युवतीहरूलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखेर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूको परिचय भने सार्वजनिक गरेको छैन।

बसपार्क क्षेत्रका होटलमा यौनजन्य गतिविधि हुने गरेको स्थानीयको गुनासोपछि सूचनाका आधारमा कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रहरीले होटल सञ्चालकलाई कानुनविपरीत गतिविधि हुन नदिन सचेत गराउँदै आगामी दिनमा पनि होटल तथा शंकास्पद गतिविधिमाथि निगरानी र अनुगमनलाई निरन्तरता दिने जनाएको छ।