उर्लाबारी — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ–१ को क्षेत्रीय सभापतिमा अर्जुन तुम्रोक चयन भएका छन्।

तुम्रोक चयन भएसँगै क्षेत्रीय सभापतिका अर्का दाबेदार देवराज चाम्लिङले भने जिल्ला सभापति डिगबहादुर लिम्बुमाथि आफूलाई आक्रमण गरेको आरोप लगाएका छन्।

चाम्लिङका अनुसार आफूविरुद्ध उठेका प्रश्न तथा आरोपको जवाफ दिन समय माग्दा नदिइएको र सोही क्रममा लिम्बुले आफूलाई आक्रमण गरेका हुन्। उनले आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिइएको भन्दै घटनाप्रति खेद व्यक्त गरेका छन्।

चाम्लिङको असहमतिका बीच तुम्रोकलाई सभापति चयन गर्ने सहमति जुटेको बताइएको छ। उर्लाबारी, मिक्लाजुङ र केराबारीका सभापतिहरू तुम्रोकको पक्षमा तथा लेटाङका सभापति चाम्लिङको पक्षमा रहेको बताइएको छ।

तुम्रोकको औपचारिक घोषणा गर्ने तयारी भइरहे पनि अन्तिम सहमति र प्रक्रियागत काम टुंग्याउने प्रयास भइरहेको बताइएको छ।