विराटनगर— नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं. ६ को निर्वाचन प्रक्रियाका क्रममा भएको विवादबारे क्षेत्रीय सभापति देवराज तामाङसहितको टोलीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ–६ को निर्वाचनका लागि सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु प्रतिष्ठान सामुदायिक भवन, बाँसबारीमा निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा विवाद उत्पन्न भएको थियो। विज्ञप्तिमा उल्लेख भएअनुसार, निर्वाचन प्रक्रिया प्रारम्भ हुनुअघि नै केही व्यक्तिबाट कार्यकर्तामाथि अभद्र व्यवहार भएपछि विवाद सिर्जना भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित कांग्रेस केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौला निर्धारित समयमा उपस्थित हुन नसकेपछि निर्वाचन प्रक्रियामा सहभागी कार्यकर्तामाझ असन्तुष्टि बढेको दाबी विज्ञप्तिमा गरिएको छ।
उक्त घटनालाई 'योजनाबद्ध आक्रमण, हिंसात्मक गतिविधि तथा रड प्रहार' का रूपमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गरिएको प्रचारप्रति क्षेत्रीय समितिले गम्भीर आपत्ति जनाएको छ। त्यस्ता प्रचारहरू घटनाको वास्तविकतासँग मेल नखाने र घटनामा संलग्न व्यक्तिहरूले मादक पदार्थ सेवन गरेको भन्ने आरोपसमेत पूर्ण रूपमा निराधार रहेको विज्ञप्तिमा दाबी गरिएको छ। यद्यपि, घटनाका क्रममा केही कांग्रेस कार्यकर्ता घाइते भएको स्वीकार गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
घटनाको सम्पूर्ण पृष्ठभूमि र त्यसबाट उत्पन्न परिस्थितिलाई बेवास्ता गर्दै क्षेत्रीय सभापति देवराज तामाङ तथा उहाँसँग सम्बन्धित समूहलाई मात्र दोषी देखाउने प्रयास भएको भन्दै विज्ञप्तिमा असन्तुष्टि व्यक्त गरिएको छ। कांग्रेस केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाले क्षेत्रीय सभापति तामाङ तथा उहाँद्वारा परिचालित समूहबाट आक्रमण भएको भन्ने आशय राखेको भन्दै त्यसको कडा खण्डन गरिएको छ। शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन गराउने जिम्मेवारीमा रहेका व्यक्तिमाथि नै घटनाको मुख्य जिम्मेवारी थोपर्नु अनुचित भएको उनीहरूको भनाइ छ।
कांग्रेसको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा हुने असहमति र असन्तुष्टिलाई संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै विज्ञप्तिमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न माग गरिएको छ। साथै, रोकिएको निर्वाचन प्रक्रिया तत्काल सुचारु गरी पार्टी विधान, निर्वाचन निर्देशिका तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अधिवेशन सम्पन्न गराउन पार्टी सभापति, केन्द्रीय निर्वाचन समिति तथा सम्बन्धित निकायसँग जोडदार आग्रह गरिएको छ।


