काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेपाली जनता सुखी हुनुपर्छ भन्ने सोचका साथ नेकपा एमाले अघि बढेको बताएका छन् ।पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
सुखी हुनको लागि गरिबी र अभाव हुनु नहुने बताउँदै ओलीले त्यसका लागि अनुकूल वातावरण बनाउने उद्देश्य बोकेर एमाले अगाडि बढेको प्रष्ट पारे । हरेक नागरिकले सुरक्षित, निर्भय र सम्मानपूर्ण रूपले बाँच्न पाउनु पर्नेमा उहाँले जोड दिए । समृद्ध नेपाल र सुखी नेपाली एमालेको अन्तिम लक्ष भएको पनि ओली बताए ।
‘हाम्रो अन्तिम गन्तव्य सुखी नेपाली हो, बिनासमृद्धि सुख प्राप्त हुँदैन, सुखको लागि समृद्धि आवश्यक छ’, उनले भने । नेकपा एमाले राजनीतिका लागि राजनीति गर्न नआएको पनि उनले प्रष्ट पारे । एमालेको राजनीति केही व्यक्तिको स्वार्थ पुरा गर्नमा केन्द्रित नभएको उनको भनाई छ ।
उनले आज पनि एमालेका ५ लाख सदस्यहरू यो अभियानमा देशभरि खटिरहेका बताए । कम्तीमा ५ लाख कार्यकर्ता आज पनि देशभरि क्रियाशील रहेका ओलीले बताए। एमालेका जति क्रियाशील पार्टी सदस्य नेपालका अन्य कुनै राजनीतिक दलमा नभएको ठोकुवा पनि गरे ।
एमालेले संसद्, सरकार र सडक तीनवटै ठाउँबाट देश बनाउने काम गर्ने भन्दै ओलीले सोहीअनुसरको योजना बनाइरहेको बताए । यस्तै उनले एमाले नेता कार्यकर्ता अनुशासित रूपमा एकताबद्ध भएर नमुना काम गर्ने गरी अघि बढ्नु पर्ने बताए ।
पार्टीभित्र कुनै कमजोरी भए एक ठाउँमा बसेर आलोचना, आत्मालोचना गर्नुपर्ने धारणा पनि ओलीले राखे । बाहिर नचाहिने टिका टिप्पणी गरेर हिँड्नु ठिक नहुने भन्दै सवै नेता कार्यकर्तालाई सचेत गराए । आलोचना भनेको सच्चिनको लागि सहयोग गर्ने कुरा भएको उनको भनाई छ ।
२०८४ मा एमालेले सबै ठाउँमा जित्नु पर्ने र देशको शासन सत्ता लिनु पर्ने उनले बता । एमालेले मिसन २०८४ मार्फत शासन सत्ता प्राप्त गरेर देश बनाउने काममा लाग्नु पर्नेमा उनले जोड दिए ।



















