लेटाङ— मोरङको उत्तरी क्षेत्र लेटाङ नगरपालिकामा एकैदिन तीनवटा पक्की पुल उद्घाटन भएका छन्। निर्माण सम्पन्न भएका लेटाङ–७ को भुवाखोला, लेटाङ–१ को मुर्चुङ्गी खोला र खेरुवा खोलाका पुल बुधबार उद्घाटन गरिएको हो।
तीनवटै पुलको उद्घाटन नगरप्रमुख भूपेन्द्रकुमार लावतीले गरेका हुन्। कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्ष विष्णुकुमार मगर, नगरपालिका कर्मचारी, प्राविधिक, स्थानीयवासी तथा सञ्चारकर्मीको सहभागिता थियो।
नगरपालिकाका इन्जिनियर भानुभक्त राईका अनुसार भुवाखोला पुल निर्माणमा ७ करोड ६७ लाख ४६ हजार ५२८ रुपैयाँ, खेरुवा खोला पुलमा २ करोड ८६ लाख १७ हजार ३९२ रुपैयाँ र मुर्चुङ्गी खोला पुलमा ३ करोड २५ लाख ३ हजार ६०७ रुपैयाँ खर्च भएको छ। तीनवटै पुल नगरपालिका र संघीय सरकारको साझेदारीमा निर्माण भएका हुन्।
पुल निर्माणपछि वर्षायाममा खोलामा बाढी तथा भेल आउँदा आवतजावतमा हुने समस्या हट्ने स्थानीयको अपेक्षा छ। विशेषगरी विद्यार्थी, किसान तथा दैनिक कामकाजका लागि आवतजावत गर्ने स्थानीयलाई सहज हुने बताइएको छ।
नगर उपप्रमुख निरौलाले पुल निर्माणले कृषि उपज बजारसम्म पुर्याउनसमेत सहज हुने बताइन्। उनका अनुसार लेटाङसँगै छिमेकी चौबिसे गाउँपालिका र केराबारी गाउँपालिकाका बासिन्दाले समेत यसको लाभ पाउनेछन्।
पुल उद्घाटनका क्रममा स्थानीयवासीले खुसी व्यक्त गर्दै नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, नगरपालिका कर्मचारी तथा सञ्चारकर्मीलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
लामो समयदेखि वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेपछि स्थानीयमा उत्साह देखिएको थियो। स्थानीयले पुललाई आवतजावतसँगै शिक्षा, कृषि, व्यापार र स्थानीय विकासका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा लिएका छन्।


