लेटाङ — मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले लेटाङ नगरपालिका–८ जाँतेस्थित स्वास्थ्य चौकीको सेवा बन्द गरिएको भनी प्रतिनिधिसभामा अभिव्यक्ति दिएको भन्दै लेटाङ नगरपालिकाले आपत्ति जनाएको छ।

नगर प्रमुख भूपेन्द्रकुमार लावतीद्वारा जारी विज्ञप्तिमा सांसद न्यौपानेको उक्त अभिव्यक्तिलाई तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भन्दै खण्डन गरिएको छ।

नगरपालिकाका अनुसार जाँते स्वास्थ्य चौकीमा ल्याब सेवा लिने सेवाग्राहीको सङ्ख्या पछिल्लो समय घटेपछि ल्याब सेवाको अवस्थाबारे अध्ययन गर्न कार्यपालिका बैठकले अध्ययन समिति गठन गरेको हो। तर, ल्याब सेवाबारे अध्ययन समिति गठन गरिएको विषयलाई स्वास्थ्य चौकीकै सेवा बन्द गरिएको रूपमा प्रस्तुत गरेर भ्रम सिर्जना गरिएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले उच्च तहमा रहेका जनप्रतिनिधिले सामाजिक सञ्जालमा आएका विषयलाई मात्र आधार बनाएर धारणा सार्वजनिक गर्नुभन्दा सम्बन्धित निकायसँग सत्यतथ्य बुझेर मात्र अभिव्यक्ति दिनुपर्ने जनाएको छ।

देश तथा विदेशमा समेत भ्रम सिर्जना हुने गरी गलत सूचना प्रवाह नगर्न आग्रह गर्दै सांसद न्यौपानेलाई ‘फेसबुके माननीय नबन्न’ समेत विज्ञप्तिमा आग्रह गरेको छ।

त्यस्तै, वडा नं. ८ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष र स्वास्थ्य चौकी प्रमुखले ल्याब सेवा बन्द भएको विषयमा प्रकाशित गरेको सूचनासमेत गैरजिम्मेवार र तथ्यहीन रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै, नगरवासी, सञ्चारकर्मी तथा सरोकारवालालाई स्वास्थ्य चौकीबारे फैलाइएका अनर्गल तथा भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेको छ।