विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिकाले पहिलोपटक शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ। नगरपालिकाले ‘ज्ञान र सिपको उत्सव, सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२’ नाम दिइएको कार्यक्रम फागुन ४, ५ र ६ गते सञ्चालन गर्ने जानकारी दिएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा नगर प्रवक्ता तथा वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले महोत्सव तीन दिनसम्म चल्ने बताए। महोत्सवको उद्घाटन हिक्मतकुमार कार्की ले गर्ने कार्यक्रम रहेको छ, जो कोशी प्रदेश का मुख्यमन्त्री हुन्। प्रदर्शनी हरेक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
महोत्सव नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको हो। यसले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा कायम गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। नगरभित्र रहेका ८७ विद्यालयका करिब ३६ हजार विद्यार्थी सहभागी हुने जनाइएको छ। तीन दिनसम्म चल्ने महोत्सवमा अभिभावक, विद्यार्थी, स्थानीयवासी तथा अन्तरपालिकाबाट गरी करिब १ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान छ।
प्रदर्शनी मूल समारोह समितिका संयोजक तथा नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यार्थीको प्रतिभा प्रस्फुटन र व्यवहारिक ज्ञान विकास गराउने उद्देश्यले यस्तो महोत्सव आयोजना गर्न लागिएको बताए। यस कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र प्रस्तुति क्षमता बढाउने अपेक्षा गरिएको छ।
शिक्षा शाखा प्रमुख तेज आचार्यका अनुसार महोत्सवमा भाषा, साहित्य, विज्ञान, प्रविधि, गणित, सामाजिक अध्ययन, वातावरण, स्वास्थ्य, पोषण तथा व्यावसायिक सिपसँग सम्बन्धित विषयगत प्रदर्शनीहरू राखिनेछन्। साथै विभिन्न क्षेत्रमा सफल व्यक्तिहरूसँग प्यानल छलफल पनि गरिनेछ।
कार्यक्रम मोरङ जिल्ला को विराटचोकस्थित सुन्दरहरैँचा–१० मा रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना हुनेछ। हाल उक्त क्षेत्रमा तयारी तीव्र रूपमा भइरहेको नगरपालिकाले जनाएको छ।





















