बिर्तामोड,११ साउन । बालिका र किशोरी बलात्कार गरेको आरोपमा झापामा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका २ का ३० वर्षीय इन्द्रजीत मण्डल र मेचीनगर नगरपालिका १५ बिचारनीटोलका २८ वर्षीय हरि राजवंशी छन् । उनीहरू दुबैजना सोमबार राति पक्राउ परेका हुन् । झापा जिल्ला अदालतबाट म्याद थपेर उनीहरू उपर अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।
मण्डलले स्थानीय १२ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। ललाईफकाई मण्डलले ती बालिकालाई पटकपटक बलात्कार गरेको किटानी जाहेरी परेको छ। बालिकाको पेटमा २८ हप्ताको गर्भ रहेको जनाइएको छ । सुरक्षित गर्भपतनका लागि बालिकाको मङ्गलबार नै उद्दार गरेको बुझिएको छ।
अनुसन्धान पूरा भएपछि मात्रै प्रहरीले थप कुरा सार्वजनिक गर्ने बताएको छ। राजवंशीले स्थानीय १५ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको जाहेरी परेको छ। आफू विरुद्ध किटानी जाहेरी परेको सूचना पाएपछि राजवंशीले भाग्ने योजना बनाएका थिए। तर, उनको भाग्ने योजना असफल भएको स्थानीयले बताए । दुबैजनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।




















