काठमाडौं— सुनसरीमा हालै भएको हिंसात्मक घटना र त्यसपछिको सुरक्षा चुनौतीबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा जारी बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।

सुनसरीमा भएको हिंसात्मक घटनाका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने १० जनाभन्दा बढी घाइते भएका थिए। उक्त घटनापछि पूर्वी तराईका विभिन्न क्षेत्रमा तनाव र विरोध प्रदर्शन बढ्दै गएपछि राजनीतिक संवादमार्फत समाधान खोज्न तथा सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यले बैठक बोलाइएको रास्वपाका महामन्त्री विपिन आचार्यले बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुसीबु ओली, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका नेताहरू सहभागी छन्।

यद्यपि, सुनसरी घटनाजस्तो गम्भीर विषयमा छलफल गर्न आयोजित यस महत्वपूर्ण बैठकमा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङ भने अनुपस्थित छन्।

सुनसरी घटनालाई लिएर सरकारको भूमिका र सुरक्षा व्यवस्थामाथि विभिन्न तहबाट प्रश्न उठिरहेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन्। केहीले यसलाई गम्भीर विषयप्रति सरकारको पर्याप्त प्राथमिकता नदेखिएको संकेतका रूपमा व्याख्या गरेका छन्।