बेलबारी—भनिन्छ, जसले चुनौतीको सामना गर्छ, इतिहास उसैले लेख्छ। मोरङको बेलबारीलाई कर्मथलो बनाएका ईरान राईको जीवन कथा कुनै चलचित्रको पटकथाभन्दा कम छैन। एउटा विपन्न परिवारमा जन्मिएर, अभावको आँधीहुरीसँग जुध्दै आज उनी देशको नीति निर्माण गर्ने थलो 'प्रतिनिधि सभा' निर्वाचनमा मोरङ क्षेत्र न. ३ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर जनताको घरदैलोमा छन्।
अभावले रोकेको त्यो बाल्यकाल
भोजपुरको दिल्पामा जन्मिएका ईरानको बाल्यकाल सुनसरीको बराहक्षेत्र-६, टपुको बगर र झुपडीमा बित्यो। आमाले निकै दुःखजिलो गरेर उनलाई प्राथमिक तह पढाउनुभयो। चक्रघट्टीको महेन्द्र प्राविबाट ४ कक्षा पास त गरे, तर गरिबी यस्तो बाधक बन्यो कि उनले तीन वर्षसम्म विद्यालयको मुख देख्न पाएनन्। तर, भित्र पढ्ने तिर्खा मरेको थिएन। तीन वर्षको ग्यापपछि फेरि पढ्न सुरु गरेका उनले बेलबारीको भगवती माविबाट एसएलसी उत्तीर्ण गरेरै छोडे।
गुरुदेखि सामाजिक अभियन्तासम्म
पढाइप्रतिको त्यही भोकले उनलाई शिक्षा क्षेत्रमै डोर्यायो। २०४५ सालदेखि भानु मेमोरियल इन्ग्लिश स्कुलमा सह शिक्षक भएर अध्यापन थालेका थिए २०४७ सालमा सोही विद्यालयको भाइस प्रिन्सिपल र २०४८ सालमा प्रिन्सिपल भएर २०५२ सम्म स्कुल सम्हालेका इरानले पछि इटहरीका विश्वराज बरालसँग मिलेर सगरमाथा इङ्लिस स्कुलको जग बसाले।
उनको परिचय शिक्षकमा मात्रै सीमित रहेन।
अंग्रेजी विषयमा बिए, बिएड र राजनीति शास्त्रमा एमएड गरेका राई समाजका बौदिक व्यक्तित्व हुन् । उनी समाजका 'ऐना' बने। १५ वटा कृति लेखिसकेका उनी प्रखर साहित्यकार हुन्। 'चुडेलनी' जस्ता कृति र 'गरिबको आँसु' अनि 'रगत' जस्ता नाटकहरू मञ्चन गरेर उनले समाजमा व्याप्त अन्याय र शोषणविरुद्ध विद्रोही चेतना भरे।
राजनीति र विकासको सारथि
२०३५ सालदेखि बेलबारीमा बस्दै आएका ईरान समाजका अग्रज व्यक्तित्वहरु हर्कमान तामाङ, रमेश लामा, रविन गुरुङको विचारबाट प्रभावित भएर राजनीति र सामाजिक क्षेत्रमा आएको बताउछन । त्यसैगरी बेलबारीका शिक्षक फणिन्द्र निरौला, शिव बराल कुसियत राई, टंक थापा, ज्ञानेन्द्र सुवेदी, दिलप्रसाद राई, जयबहादुर गुरुङ लगायत धेरै व्यक्तित्वहरुसँगको सहकार्य भएको राई स्मरण गर्छन् । २०४७ सालमा नेकपा (माले) को सदस्यता लिएर राजनीतिमा होमिएका उनी २०५२ सालमा 'नमुना क्लब' स्थापना गरेर सामाजिक सेवामा खटिए। बेलबारीको पहिचान बनेको 'बेतना सिमसार'लाई आजको उचाइमा पुर्याउन सिमसार समितिको अध्यक्षका रूपमा उनले खेलेको भूमिका बेलबारीबासीले बिर्सेका छैनन्।
सरल जीवनशैली र सिर्जनशील व्यक्तित्वका धनी राई यतिबेला 'उम्मेदवारका लागि उम्मेदवार' मात्र होइनन्, एउटा आशाका रूपमा उभिएका छन्। स्थानीय योजना, दीर्घकालीन विकास र राष्ट्रियताको सवालमा दह्रोसँग उभिन आफूले उम्मेदवारी दिएको उनी बताउँछन्।
कोशी टप्पुको त्यो सानो झुपडीबाट सुरु भएको उनको यात्रा, आज संसद्को ढोका ढकढक्याउने ठाउँसम्म पुर्याउन जनताले उनलाई एउटा जिम्मेवार र भरपर्दो पात्रका रूपमा विश्वास गरेका छन्, जुन विश्वास नै उनको जीवनको सबैभन्दा ठूलो पुँजी हो।



















