काठमाडौं — नेकपा एमाले ले युवा र उद्यमी लक्षित गर्दै प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको डलर कार्ड उपलब्ध गराउने योजना आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली ले फागुन ७ गते सार्वजनिक गरेको घोषणापत्र ‘समृद्ध नेपाल, सुखी नेपाली– राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ नारासहित सार्वजनिक गरिएको हो। घोषणापत्रमा सूचना प्रविधि र स्टार्टअप क्षेत्रमा संलग्न हुन चाहने युवालाई लक्षित गरी यस्तो व्यवस्था गर्ने उल्लेख छ।

घोषणापत्र अनुसार आईटी उत्पादनको अनुसन्धान, विकास, उत्पादन र निर्यात प्रवर्द्धन गर्न तथा स्टार्टअपमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन युवालाई १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराइनेछ।

यस सुविधाले एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास लगायत आईटी तथा अनलाइन सेवासम्बन्धी तालिम र सेवा खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ। पार्टीले यस कार्यक्रममार्फत १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ।

त्यसैगरी विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न र विदेशी कम्पनीमा शेयर खरिद गर्न सक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउने योजना पनि घोषणापत्रमा उल्लेख गरिएको छ।