झापा—झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। मृतक सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ।
कविता आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालन भएपछि दुवै शिक्षक सम्पर्कविहीन रहेको पाइयो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन सकेको थिएन।
प्रधानाध्यापक लुइँटेलका अनुसार दिनभर सम्पर्क नभएपछि सोमबार साँझ करिब ४:३० बजे रतन गुप्ताले ह्वाट्सएपमार्फत सन्देश पठाएका थिए। सन्देशमा आफ्नी श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको तथा डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै कोठाको ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो।
स्थानीयका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन रहेका छन्।
प्रहरीका अनुसार सूचना प्राप्त हुनासाथ टोली घटनास्थल पुगेर शव बरामद गरेको हो। मृत्युको कारण खुलिनसकेको र शव परीक्षणसहित घटनाका सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै सम्पर्कविहीन रहेका रतन गुप्ताको खोजी कार्य पनि जारी रहेको छ।




















