सुनसरी—सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने प्रहरी र सर्वसाधारण गरी १६ जना घाइते भएका छन्।
सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर देवानगञ्ज–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।
आइतबार बेलुका दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ। घटनामा गोली लागेर ८ जना सर्वसाधारण घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाइतेमध्ये २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ। यस्तै, २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। राईको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते हुने अन्यमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव रहेका छन्।
घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।




















