बुटवल— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले नेतृत्वमा पदमोह र कम्युनिस्ट आचरणको अभावका कारण नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताएका छन्।

शनिबार बुटवलमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै रावलले गत वर्षको जेनजी आन्दोलनपछि कम्युनिस्ट दलहरू झन् कमजोर बनेको उल्लेख गर्दै पुराना नेताहरूले सम्मानपूर्वक नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखे।

“मानिस कति पटक प्रधानमन्त्री, अध्यक्ष वा धन कमाएपछि सन्तुष्ट हुन्छ?” भन्दै उनले नेतृत्वलाई अब सम्मानजनक रूपमा बिदा हुने समय आएको बताए।

रावलले आफू वामपन्थी शक्तिको एकताका लागि जस्तोसुकै प्रस्तावमा हस्ताक्षर गर्न तयार रहेको पनि बताए। पद जोगाउने सोचले कम्युनिस्ट आन्दोलन बलियो नहुने उनको भनाइ थियो।

उनले विगतका कम्युनिस्ट नेतृत्वका सरकारको अकर्मण्यताका कारण जनविश्वास घटेको दाबी गर्दै अहिलेको सरकारले गरेका कामको विरोध गर्न वामपन्थी र देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने बताए।

साथै, नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि चुनौती देखिएको दाबी गर्दै कम्युनिस्ट शक्तिबीच वैचारिक एकता र सहकार्य आवश्यक रहेको उनले बताए।