• ✍️भूमिप्रसाद पाठक   
मोरङको पथरी शनिश्चरे नपा वडा नं. २, छ्यालिस बिघेस्थित नगर अस्पताल सेवाप्रवाहका दृष्टिकोणले यतिबेला चर्चाको शिखरमा छ । २६ कठ्ठा जग्गामा फैलिएको यो नगर अस्पताल सञ्चालनको छोटो समयमै यहाँसम्म आइपुग्दा सर्वसाधारणको पहुँचमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाको रूपमा चर्चा बटुल्न सफल भएको छ । बाबुराम राईलगायत स्थानीय जग्गादाताको सहयोगमा निर्मित अस्पतालमा गत वर्षयता आकस्मिक सेवा सञ्चालित छ । 

भौतिक रूपमा व्यवस्थित संरचना विकासमा लागेका छौँ, स्थानीय बिरामीको चाप र तिनको मागअनुसारको सेवाप्रवाहमा लागेका छौँ, आँखा र दाँतसम्बन्धी अत्याधुनिक सेवा आरम्भ हुने भएको छ, अहिलेसम्म ९ वटा ओपीडी सेवा आरम्भ भएको छ– स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य भन्नुहुन्छ । भरखरैअघि मात्र सम्पन्न १३ औँ नगरसभाबाट नीति–कार्यक्रम पास गर्दै नगरका १० वटा वडामा स्तरीय सेवाप्रवाह गर्ने नीति–कार्यक्रम रहेको उहाँले थप्नुभयो । केही दिनअघि मात्र सुरु गरेको फिजियोथेरापीसँगै स्त्रीरोगसम्बन्धी अलग्यै उपचार सुरु गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले थप जानकारी दिनुभयो । प्रारम्भमा निर्मित १५ शैयाको अस्पतालले सेवाप्रवाह आएकोप्रति सगर्व उभिँदै स्वाशा प्रमुख आचार्यले १८ करोड बराबरको लगानीमा बन्न लागेको भवन निर्माणको काम खुश्वु कन्ट्रक्सन कम्पनिले २ वर्षमा हस्तान्तरण गर्ने शर्तसहित ठेक्का लिएको जनाउनुभयो ।  

आचार्यका अनुसार नगरभित्र कायम १० वटा वडामै स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत ३० जना स्वास्थ्य स्वयंसेविकाले दिनुभएको सेवा बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि अपूग रहेको स्वास्थ्य सहायक संयोजक जगतबहादुर मगरले बताउनुभयो । ३ जना चिकित्सकको मातहतमा ४३ जना नगर अस्पतालमा कार्यरत कर्मचारीको सक्रियताले नगर अस्पतालले उल्लेख्य फड्को मारेको सहायक संयोजक मगरको विश्वास रहेको छ । 

357385685_1363057700908989_6765649096282801378_nयो आर्थिक वर्षमा स्वास्थ्य शीर्षकमा विनियोजित बजेट १ करोड ८९ लाख ८५ हजार रहेको भए पनि यो पर्याप्त हुन नसक्ने अनुमान स्वास्थ्य क्षेत्रभित्र लगाइन्छ । गठबन्धनस्वरुपको संघीय सरकारले बजेट र बजेट शीर्षक कटौति गरेर पठाएसँगै स्थानीय सेवाग्राहीलाई यसको प्रत्यक्ष मार परेको यहाँबाट सहजै अनुमान लगाउन सकिन्छ । 

पारिवारिक बीमा विपन्नलाई, सुलभ उपचार नागरिक सबैलाई... नामक कार्यक्रममार्फत करीब १२ सय परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिने कार्यक्रम पनि नगरमा प्रभावकारी देखिन्छ । पालिका र पालिका बाहिरदेखि पनि बिरामीको चाप बढ्दो छ, समयमा सेवा दिन सकिएको छैन, भौतिक संरचना अभाव छ, खासखास रोगसम्बन्धी विज्ञ चिकित्सकलाई स्थायी रूपमा राख्न सकिएको छैन, जटिल प्रकृतिका रोगको निदान दिन सकिएको छैन, नगरले चाहेर मात्र भएन, हुँदो रहेनछ, माथिबाट आउनुपर्ने बजेट कटौति भएर आउछ, पुग्दो बजेट अभावमा केही समस्याहरू पनि असरल्ल उब्जेका छन्, यहाँ हामीले त के नै पो गर्न सक्छौँ र ! पूर्णतः सेवा दिन नसकेकोमा असजिलो मान्दै नगरप्रमुख मोहनप्रसाद तुम्बापोले भन्नुभयो । 

नगरमा शिक्षा

विगत दशकयता पथरी शनिश्चरे नगर शिक्षाको केन्द्र बन्दै गइरहेको छ । विविध विधागत र संकायअनुसार पठनपाठन हुने विद्यालयहरूमा सामुदायिक तर्फ ३८ वटा, धार्मिक विश्वनाथ संस्कृत विद्यालय एउटा र संस्थागत विद्यालय ३७ वटा छन् । ४ वटा बालकेन्द्र समेत रहेका नगरमा ३ वटा सामुदायिक बालविकास केन्द्र र एउटा आन्तरिक मौलीबारी बालविकास केन्द्र क्रियाशील रहेको जानकारी प्राविधिक शिक्षा सहायक बिना मिश्राले दिनुभयो । 

अंग्रेजी भाषा माध्यमबाट पठनपठान हुने विद्यालयको संख्या बढ्दो छ । अहिले यो संख्या पञ्चायत, भागिरथ, सिंहवाहिनी, जनता, बुद्धलगायत छन् । ९–१२ कक्षासम्म पढाइ हुने ६ वटा विद्यालय छन् भने आधारभूत तहसम्म पढाइ हुने ७ वटा छन् । बालकेन्द्रबाहेक प्राथामिक तहसम्म पढाइ हुने ७ वटा विद्यालय रहेका छन् । प्रदेश गौरवकै रूपमा रहेको पञ्चायत सहित सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ४ हजार ८ सय ६४ छात्रा र ४ हजार ४ सय ८० छात्र रहेको शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले जानकारी दिनुभयो । उहाँका अनुसार पञ्चायतको मात्र विद्यार्थी संख्या झण्डै अरु सबै विद्यालय एकातिर भए बराबर छ । यो नगरको गहना र शिक्षा विकासको धरोहर हो । 

उपसचिव काफ्लेका अनुसार संस्थागत विद्यालयतर्फ ५ हजार २ सय ४८ छात्रा र ६ हजार ४ सय ३६ छात्र रहेका छन् । यो आफैंमा राम्रो हो । शिक्षक मावि स्थायीतर्फ २७ जना र आधारभूत तहमा १ सय २६ जना हुनुहुन्छ । सका ४६ जना शिक्षक रहनुभएको नगरमा शिक्षा विकासको उन्नयन तुलनात्मक राम्रो रहेको काफ्लेको ठहर छ । 

नगरमा रहेको एकमात्र स्नातकोत्तर तहसम्म पढाइ हुने पथरी बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र र व्यवस्थापनमा नियमिततर्फ पढ्ने विद्यार्थीको संख्या ६ सय २९ रहेको सम्पन्न स्ववियु निर्वाचनताका जारी अभिलेखले बताउछ । यो सबै स्थानीय सम्पदाको संरक्षण र प्रर्वधनका लागि आर्थिक वर्ष २०८०÷०८१ का लागि २ करोड ५० लाख ९६ हजार बजेट विनियोजित रहेको तथ्यले बताउछ । प्राविधिक शिक्षामा अनुदान, सक्षम जनशक्ति उत्पादन... शीर्षकअन्तर्गत भागिरथ मावि र मदन भण्डारी प्रतिष्ठानमा अध्ययनरत प्राविधिक फाँटका विद्यार्थीहरूलाई सहुलीयतमा पठनपाठनको व्यवस्था सम्पन्न नगरसभाले गरेको छ । 

कतिपय विद्यालयसँग अभिभावक र समुदायको सघन सम्बन्धसम्पर्क नभएको, शिक्षक पदोन्नतिको अवस्था पारदर्शी नदेखिएको, स्थानीय आवश्यकताअनुसार दरबन्दी प्रर्याप्त मात्रामा नभएको, शिक्षा केन्द्रहरू भौतिक रूपमा जीर्ण भएकोप्रति ध्यान पुग्न नसकेको, बालशिक्षाका लागि सका परिचालनमा बजेट अभाव देखिएको, अनुगमन कमजोर र फितलो रहेको पक्षउपर ध्यान दिनुपर्ने देखिन्छ ।

56963205_804928659892925_5342631530277634048_n