विराटचोक—सुप्रसिद्ध गायिका तथा अभिनेत्री पवित्र सुब्बा लाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान गरिएको छ।

गीतकार तथा कवि केपी घिमिरे को आयोजनामा सुनसरीको इटहरी मा चैत १५ गते आयोजित समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मनु मन्जिल रहेका थिए भने सभापतित्व गीतकार सङ्घ नेपालका आजीवन सदस्य किरण टी. लिम्बू ले गरेका थिए। कार्यक्रममा सञ्चारकर्मी लक्ष्मी मादेन, समाजसेवी राजेश श्रेष्ठ, व्यवसायी सूर्य भट्टराई र साहित्यकार पुरन याक्खा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

सम्मान समारोहमा गायिका भूमा अधिकारी र गायक कृष्णराजा श्रेष्ठ ले सुब्बाका चर्चित गीतहरू प्रस्तुत गरेका थिए। सम्मान ग्रहणपछि सुब्बाले पनि आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरिन्।

इटहरी सेन्ट्रल प्लाजाको चौथो तलामा रहेको होटल बरण्डामा सम्पन्न सम्मान साँझ समारोहमा सर्जकहरू राजु केसी, जेबि थुलुङ, मणि गुरुङ, रामप्रसाद खरेल, गीताप्रसाद श्रेष्ठ, दुर्गा पराजुली, कविता पाँचकोटी, मोहन तिम्सिना, लक्ष्मीप्रसाद पराजुली, प्रदीप रेग्मी, श्रीप्रसाद पोखरेल, सुविद गुरागाईँ, अभिनेत्री एवम् भिडियो निर्देशक कला सुब्बासहित धरान,विराटनगर, सुन्दरहरैँचा, पथरी, उर्लाबारी, दमक, बराहक्षेत्र, मिक्लाजुङ, बेलबारी, इनरुवा, रामधुनी, धनकुटा, सङ्खुवासभा तथा इटहरीका स्रोता-दर्शकको सहभागिता रहेको थियो। 

‘नझरेका फूलहरू’ अभियानले विगत एघार वर्षदेखि स्रष्टा सम्मान, प्रस्तुति तथा पलेँटी शृङ्खला सञ्चालन गर्दै आएको आयोजक घिमिरेले जानकारी दिएका छन्।