विराटचोक—राइडर्स महफिल सुन्दरहरैँचाको आयोजनामा गजल महफिलसहित स्रष्टासम्मान कार्यक्रम हुने भएको छ । यही वैशाख २७ गते दिनको १ बजेदेखि सुन्दरहरैँचाको उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको छ। नेपाली भाषासाहित्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्रष्टासम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा सुन्दरहरैँचा-१० निवासी छन्दकवि सोमप्रसाद भट्टराईद्वारा लिखित खण्डकाव्य अतीतदर्पण सार्वजनिक गरिनेछ। कवि भट्टराई लामो समयदेखि शास्त्रीय छन्दमा कविता लेख्दै आएका एक अनुभवी साहित्यकार हुन्। यो उनको पहिलो प्रकाशित कृति हो। साथै, कार्यक्रममा संस्कृत भाषाका प्रकाण्ड विद्वान पुरुषोत्तम भट्टराईको पनि  उपस्थिति रहनेछ।

यसपटक राइडर्स महफिलले काठमाडौंबाट गजलकार रूपक वनवासी, झापाबाट गजलकार रश्मि असफल, मोरङबाट गजलकार टीका खड्का राष्ट्रप्रेमी, र सुनसरी जिल्लाबाट गजलकार सुमन रेग्मीलाई निमन्त्रणा गरेको छ। यी गजलकारहरूले आफ्ना उत्कृष्ट गजलहरू प्रस्तुत गर्नेछन्।

२०७७ सालमा स्थापना भएको राइडर्स महफिलले प्रख्यात गजलकारहरूको सहभागितासहित हालसम्म छैटौं शृङ्खला सम्पन्न गरिसकेको छ। नेपाली भाषासाहित्यको जगेर्ना गर्न समर्पित यो मञ्च पूर्व नेपालकै एउटा प्रतिष्ठित साहित्यिक संस्थाका रूपमा स्थापित भइसकेको छ।

सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेले नगरको भौतिक विकाससँगै चेतनाको विकासमा पनि जोड दिनुपर्ने बताए। “भाषासाहित्य, कला र संस्कृतिका माध्यमबाट नगरलाई विशिष्ट पहिचान दिलाउन समिति क्रियाशील छ। भाषासाहित्यको विकासले नागरिकको चेतनास्तर उच्च बन्छ, र यस्तै कार्यक्रमहरू देशको चेतना विकासका लागि आवश्यक छन्,” घिमिरेले भने।

आयोजक राइडर्स महफिलका व्यवस्थापक यादव भट्टराईले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण सुन्दरहरैँचा नगरवासी, छिमेकी जिल्ला र पालिकाबाट गरिमामय उपस्थिति जनाउन अपिल गरेका छन्।

e9e23231-cb1f-47fc-a7db-18a4ed0200af