काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफूहरूमा पदको दुरुपयोग गरेर आफन्तलाई कुनै अवसर दिएको प्रमाण भए सार्वजनिक गर्न खुला चुनौती दिएकी छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको पुस्तक ‘करुणा’ सम्बन्धी संवाद कार्यक्रममा शाक्यले यस्तो धारणा राखेकी हुन्।

कार्यक्रममा शाक्यले आफूहरूले कुनै पनि प्रकारले पदको दुरुपयोग नगरेको दाबी गर्दै भनिन्, “केपी सरले पदमा रहँदा कोही पनि आफन्त वा नातागोतालाई कुनै सुविधा दिएका छैनन्। यदि त्यस्तो केही प्रमाण छ भने सार्वजनिक गर्नुस्, हामीलाई गलत सावित गरिदिनुस्।”

शाक्यले आफ्नो कडा स्वभावका कारण आफूसँग कुनै माग वा आकांक्षा लिएर कोही पनि नआउने बताउँदै प्रधानमन्त्री ओलीले समेत यस्तो काम कहिल्यै नगरेको स्पष्ट पारिन्। उनले भनेकी छिन्, “मानिसहरू स्वार्थका लागि हाम्रो नातागोता खोज्दै हिँड्छन्, तर त्यस्ता प्रयासहरू सफल भएका छैनन्। मेरो बहिनीहरूले समेत यसबाट दुःख पाएका छन्।”

उनले आफ्नी कान्छी बहिनीको एउटा प्रसंग सुनाउँदै, “बहिनी ट्याक्सी चढेर काममा जाँदा चालकले ओली आफन्तलाई गाडी सुविधा दिन्छ भन्ने आरोप लगाएको सुनेपछि बहिनीले ट्याक्सीबाट ओर्लँदै उसलाई जवाफ दिएकी रहिछन्— ‘म ओलीकी साली हो, यदि गाडी सुविधा पाएको भए तिम्रो ट्याक्सी चढ्नु पर्थ्यो र?’”

शाक्यले आफू राजनीतिमा आउन चाहेको भन्ने हल्लाहरूको खण्डन गर्दै भनिन्, “केपी ओलीले मलाई राजनीतिमा आउन भन्नुभएको छैन, न त मैले राजनीतिमा जाने योजना बनाएकी छु। म राजनीतिमा आउँदिन, तपाईंहरू ढुक्क हुनुस्।”

पुस्तक ‘करुणा’ को बारेमा आयोजित कार्यक्रममा शाक्यले आफ्नो व्यक्तिगत अनुभव, ओलीको नेतृत्वकालको अध्ययन, र दुरुपयोग सम्बन्धी आक्षेपहरूबारे खुलेर बोलेकी थिइन्। कार्यक्रममा बरिष्ठ साहित्यकार डा. देवी नेपाल र पत्रकार बबिता बस्नेतले शाक्यको पुस्तकबारे आफ्नो समीक्षात्मक टिप्पणी पनि प्रस्तुत गरेका थिए।

राधिका शाक्यको चुनौतीले ओली दम्पतीले पदको दुरुपयोग नगरेको दाबीलाई बल दिएको छ।