काठमाडौं - शनिबार श्रीमान् गुमाएकी नुवाकोट लिखु गाउँपालिका–४, रानीटारकी ५६ वर्षीया माइली राईको परिवारलाई किरिया (सांगे) गर्ने आर्थिक सहयोग जुटेको छ ।पशुपतिस्थित किरियापुत्री भवनमा किरिया बारिरहेकी माइलीको परिवारलाई ५० भन्दा बढी सहयोगीबाट चार लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ ।‘नुवाकोट-काठमाडौं पत्रकार समाज’को पहलमा २५ हजार रुपैयाँ र अमेरिकामा रहेका पत्रकार रामचन्द्र भट्टको पहलमा त्यहाँ रहेका नेपालीबाट १५ सय डलर (झन्डै २ लाख रुपैयाँ) संकलन भएको हो । संकलन भएको रकम बुधबार पशुपति क्रियाघरमै गएर माइलीलाई हस्तान्तरण गरिने बताइएको छ ।

यस्तै काठमाडौंबाट खानका लागि १२ बोराभन्दा धेरै चामल र पिठो, फलफूल, दाललगायतका खाद्य सामग्री पनि जुटेको छ ।बागमती प्रदेशका पूर्वसांसद एवं समाजसेवी नरोत्तम वैद्यका अनुसार माइलीको परिवारलाई मदनकुमार श्रेष्ठले ३० हजार, रुद्र ढुङ्गेलले १५ हजार, नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रबहादुर सिंहले १० हजार, शिवशंकर गौतमले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । यसबाहेक पनि विभिन्न ठाउँबाट नगद तथा खाद्य सामग्री सहयोग प्राप्त भइरहेको वैद्यले बताए ।

काठमाडौंको डेरामा बस्दै आएकी माइली राई बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन् । उनका श्रीमान् पाण्डव रिक्सा चलाउँथे । तर, शनिबार बिहान पाण्डवको अचानक मृत्यु भयो । घरको मूल व्यक्ति गुमाउनुको पिडा त एकातिर थियो नै सबैभन्दा ठूलो पिडा थियो त्यो मृत लासको व्यवस्थापन । जिउँदो मानिसलाई पैसाले एक समय छोड्दैन तर मरेपछि पनि यसले सताउन भने छोड्दो रहेनछ ।

उनीहरूले शववाहन बोलाए । केहीबेरमै शववाहन कोठामा आइपुग्यो । तर, आर्यघाटसम्म लैजान चार हजार रुपैयाँ माग्यो । माइलीसँग त्यत्रो पैसा थिएन । शववाहन शव नलिई फर्कियो ।  शव नउठेपछि वरपरका मान्छेले छिटो उठाउन दबाब दिन थाले । समस्यामा परेकी माइलीले श्रीमानले  चलाउँदै आएको रिक्सामा शव राखिन् । छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्‍याइन् । दाहसंस्कारका लागि उनीहरू विद्युतीय शव दहन केन्द्र पुगे । केन्द्रका कर्मचारीले चार हजार रुपैयाँ शुल्क मागे । शुल्क तिर्न सक्ने स्थितिमा माइली थिइनन् । उनीहरूले त्यो दिनभर लासलाई रिक्सामा राखेर गुहार मागीरहे । तर अह, पैसा बेगर केही काम चलेन । उनको आशु र गुहारले कुनै मूल्य पाएन ।

माइलीलाई घाटकै कसैले बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यको फोन नम्बर दिए । उनैले घाटमा पुगेर शुल्क भुक्तानी गरिदिए । उनैले किरिया बस्ने कोठाको प्रबन्ध पनि गरिदिए । अहिले माइली सोही कोठामा किरिया बसिरहेकी छिन्, तर भवनको १०७ नम्बर कोठामा किरिया बारिरहेकी उनलाई बिहान–बेलुका खाने अन्नको अभाव रहेको थियो  ।

‘माइली राईको नियति : चारहजार नपाएपछि फर्कियो शववाहन, श्रीमान्को शव रिक्सामा राखेर पुर्‍याइन् आर्यघाट’ शीर्षकको समाचार सोमबार नेपाल भ्युजमा प्रकाशन भएपछि देश विदेशबाट सहयोग जुटिरहेको छ ।