विराटचोक - नझरेका फूलहरूले प्रसिद्ध गायक तथा साहित्यकार जीवन शर्मा र कवि तथा गीतकार सूयर्मा राईलाई सम्मान गर्ने भएको छ ।
नेपाली भाषा,साहित्य,कला,सङ्गीत र संस्कृतिका क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर स्रष्टा समान,पलेँटी शृङ्खला र सिर्जना प्रस्तुतीकरण गर्दै आएको नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खलामा सम्मान गर्ने भएको हो ।
सुन्दरहरैँचा १० विराटचोक स्थित प्लानेट लाउञ्जको प्राङ्गणमा फागुन १९ गते शनिवार बेलुका ६:३० बजेबाट सुरु हुने पलेँटी साँझ कार्यक्रमलाई यसपटक 'पलेँटीमा सुर-सङ्गम' नाम दिईएको नझरेका फूलहरूका परिकल्पनाकार, व्यवस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताएका छन्।
पलेँटीमा सुर-सङ्गम कार्यक्रममा प्रसिद्ध गायक तथा साहित्यकार जीवन शर्मा र गीतकार / कवि सूयर्मा राईलाई नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिने बताइएको छ। यसभन्दा अगाडि नै सम्मान गरिसकेका सर्जक जे.बी. थुलुङलाई पनि फेरि अर्कोपटक सुन्न पाइने भएको छ। कार्यक्रममा थुलुङका सिर्जनाहरू स्थानीय कलाकार साथै अलङ्कार कला केन्द्र बेलबारीले प्रस्तुत गर्ने र सर्जक थुलुङ स्वयम् सिर्जना प्रस्तुतिका लागि मञ्च उक्लने बताइएको छ।
नेपाली लोकगीत,आधुनिक गीत, राष्ट्रिय गीत तथा गजलमा विशेष कलम चलाउने थुलुङका 'खोटाङ जिल्ला दिक्तेल बजार, तिमी गयौ र, देश कहिले, माया बिरानी, आज खुसीको ' लगायतका गीतहरू चर्चित छन् ।उनको 'नथाक्ने मान्छे' गजल सङ्ग्रह पनि बजारमा आइसकेको छ।
मोरङकै अर्का सर्जक सूयर्मा राईका गीतहरू पनि पलेँटी साँझमा प्रस्तुत गरिने छ। उनले कविता र गीतमा धेरै कलम चलाएका छन्। उनका फुटकर कविता र गीत प्रकाशित छन्।
६० दशक अगाडिदेखि रेडियो नेपालमा बजेका उनका गीतहरू नेपालका ख्यातिप्राप्त गायक गायिकाले गाएका छन्। कवि तथा गीतकार सूयर्मा राईको रचनाका गीतहरू दीप श्रेष्ठ ,कर्ण दास, भीषण मुकारुङ, जगदीश समाल, राजेशपायल राई लगायतका आवाजमा रेकर्ड भएर बजारमा आएका हुन् । युवा राजनीतिकर्मी समेत रहेका राईलाई यसपटको उनको साहित्यिक र साङ्गीतिक योगदानलाई कदर गरी सम्मान गर्न लागिएको घिमिरेले बताए।
यसपटकको कार्यक्रमका मुख्य आकर्षणका रूपमा भने प्रसिद्ध गायक,रचनाकार,सङ्गीतकार एवम् साहित्यकार जीवन शर्मालाई प्रस्तुत गर्न लागिएको छ।शर्माले लामो समयदेखि नेपाली जनजागरणका गीतहरूमा आफूलाई समर्पित गरेका छन्। उनले गाएका अधिकांश गीतहरू सर्वाधिक लोकप्रिय र जनताका ओठमा झुन्डिएका छन्। उनले साहित्य,सङ्गीत र कलाका क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानलाई आधार मानेर सम्मान गर्न लागिएको घिमिरेले जानकारी दिए।
कार्यक्रममा गायक शर्माले एक दर्जन बढी गीत सुनाउने बताइएको छ।
शर्माको स्वरमा रहेका 'सिमली छायामा बसी, छेकेर छेकिन्न, लिस्ने लेखमा, आकाशैमा, पाल्पा रानीवन, सुसेली हालेर वनमा, सुकेर जाँदैन, सानो सानो, सागर भेट्न, चाहिँदैन मलाई' लगायतका गीतहरू चर्चित छन्।
कार्यक्रममा सहभागिताका निम्ति दर्शकलाई सामाजिक सञ्जालबाट निमन्त्रणा समेत गरिसकिएको र निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक घिमिरेले जानकारी दिएका छन्।



















