काठमाडौं— सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिना र नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माबीच बिहीबार मन्त्रालयमै भनाभन भएको छ।

छापा सञ्चारमाध्यमको संरक्षण तथा प्रवर्द्धन तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाउन पुगेको पत्रकार महासंघको टोलीसँग मन्त्री तिमल्सिनाको विवाद भएको हो।

महासंघकी अध्यक्ष शर्मासहित काठमाडौं, ललितपुर र भक्तपुर शाखाका पदाधिकारीहरू मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए। ज्ञापनपत्र बुझिसकेपछि मन्त्री तिमल्सिनाले पत्रकार महासंघमाथि राजनीतिक आक्षेप लगाएको दाबी सहभागी पत्रकारहरूले गरेका छन्।

सहभागी पत्रकारका अनुसार मन्त्री तिमल्सिनाले “पत्रकार महासंघको नाममा दलको राजनीति गर्न आएको” भन्दै टिप्पणी गरेपछि अध्यक्ष शर्माले त्यसको तत्काल प्रतिवाद गरेकी थिइन्।

शर्माले मन्त्रीलाई “महासंघमाथि राजनीतिक बिल्ला भिराउन खोजेको हो ?” भन्दै प्रश्न गरेकी थिइन्। साथै उनले प्रेस काउन्सिलमा भएको नियुक्तिको विषय उठाउँदै “त्यो राजनीतिक नियुक्ति हो कि होइन ?” भन्ने प्रश्न पनि गरेकी थिइन्।

दुवै पक्षबीच केहीबेर चर्काचर्की भएको र उपस्थित अन्य पदाधिकारी तथा पत्रकारहरूले स्थिति साम्य पार्न पहल गरेको बताइएको छ।

नेपाल पत्रकार महासंघले सरकारले छापा सञ्चारमाध्यम र लोककल्याणकारी विज्ञापनमा विभेदकारी नीति ल्याएको आरोप लगाउँदै उक्त नीति सच्याउन मागसहित सूचना तथा सञ्चार मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ।