काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले पछिल्ला राजनीतिक घटनाक्रम र जेन–जी समूहले गर्न लागेको प्रदर्शनलाई मध्यनजर गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।

आयोगले हिंसात्मक गतिविधि, घृणायुक्त अभिव्यक्ति र नकारात्मक टिप्पणीहरूले सामाजिक सद्भाव र राजनीतिक वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

गएको भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाबारे आयोगले अनुसन्धान तीव्र बनाएको र सम्बन्धित निकायहरूसँग सत्य–तथ्य विवरण सङ्कलन भइरहेको प्रवक्ता टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै, विधिको शासन र शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षाकर्मीको मनोबल उच्च राख्दै संयमित कदम चाल्न आयोगले सरकारलाई निर्देशन दिएको छ।

राजनीतिक दल र समूहहरूलाई प्रदर्शन मर्यादित र शान्तिपूर्ण राख्न तथा नागरिक समाज, सञ्चारकर्मी र मानव अधिकार समुदायलाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न पनि आयोगले अपील गरेको छ।