काठमाडौं — जेनजी शहीद परिवार संघर्ष समितिले सरकारले आफूहरूलाई बेवास्ता गरेको भन्दै तीन मन्त्रालयमा प्रतिनिधित्वको माग गरेको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले “शहीदको रगतबाट बनेको सरकारले शहीद परिवारलाई नै पाखा लगाएको” आरोप लगाउँदै, क्याबिनेटमा आफ्नो उपस्थिति अनिवार्य रहेको बताएका छन्।
शहीद श्रीयम चौलागाईंका बुबा गणेश चौलागाईंले प्रधानमन्त्री सुशीला कार्की र विभिन्न जेनजी समूह कसैले पनि आफूहरूलाई वास्ता नगरेकोप्रति गहिरो रोष व्यक्त गरे । उनले पटक–पटक मन्त्रालयहरूमा ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट कुनै प्रतिक्रिया नआएको बताए । उनले भने,”हामी पीडित र शहीद परिवारको पीडा कसैले सुनेको छैन।“
त्यसैगरीशहीद परिवार कमल सुवेदीले पटक–पटक शहीद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरुले भेटसमेत नदिएको भन्दै आक्रोश व्यक्त गरे । सुवेदीले आफ्ना परिवारका सदस्यहरुको रगतबाट बनेको सरकार र जेनजीहरुले सहानुभूतिसमेत नदिएको गुनासो गर्दै भने, ‘हामीले हाम्रा परिवारका सदस्य गुमाएका छौं, त्यसैमा टेकेर वर्तमान सरकार बनेको छ, जेनजीहरु विभिन्न समूह बनाउँदै हिँड्छन्, उहाँहरु आ–आफ्नै स्वार्थमा लिप्त हुनुहुन्छ ।’
जेनजी शहीद परिवार संघर्ष समितिले सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीका दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोज विक्रम थापा र युवा तथा खेलकूद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले सो माग सात दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।



















