काठमाडौँ — परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी चाँडै रिहा हुनेमा आशावादी रहेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार हालसम्मको सूचनाले जोशी सकुशल रहेको र उनको रिहाइ नजिकिएको संकेत दिएको छ।
“ढिलो भए पनि विपिन जोशी कब्जामा परेपछि प्रारम्भिक भिडियो सार्वजनिक भइसकेको छ। मृत्युको सूचीमा उनको नाम छैन, इजरायलले पनि उनी जीवित रहेको जानकारी दिइरहेको छ। त्यसैले हामी चाँडै रिहा हुनेमा आशावादी छौँ,” क्षेत्रीले भने।
उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग नियमित सम्पर्क कायम राखेको छ र स्थिति नजिकैबाट अनुगमन भइरहेको छ।
यस्तै, परराष्ट्र मन्त्रालयले इजरायल र हमासबीच सम्पन्न हालको शान्ति सम्झौतालाई स्वागत गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग पुर्याउने देशहरू — संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्की — प्रती आभार प्रकट गरेको छ।
मन्त्रालयले उक्त सम्झौता दिगो शान्ति स्थापनाको दिशामा महत्वपूर्ण कदम भएको उल्लेख गर्दै गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न सबै पक्षलाई आग्रह गरेको छ। साथै, विज्ञप्तिमा जोशीलगायत सबै बन्धकहरूको तत्काल रिहाइका लागि पनि नेपालले आह्वान गरेको छ।



















