काठमाडौं—नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको पूर्वसन्ध्यामा अध्यक्ष केपी शर्मा ओलीको सचिवालयबाट भ्रम फैलाइएको भन्दै पदाधिकारीहरुले आपत्ति जनाएका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवैतिर प्रष्ट नखुलेका सात जना नेताले सामूहिक निर्णय गरेर अध्यक्ष ओलीतिर खुलेको सूचना शुक्रबार गुन्डुबाट प्रवाह गरिएको थियो ।

सात पदाधिकारीको आज शुक्रबार भएको अनौपचारिक छलफलबाट अध्यक्ष ओलीको नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष निकालेको सूचना प्रवाह गरिएको थियो ।

उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेको बताइएको छ ।

तर काठमाडौंको छलफलमा सहभागी भनिएको सचिव रघुवीर महासेठ जनकपुरमा छन् । अर्का लेखराज भट्ट कैलालीको धनगढीमा छन् । सचिव पद्मा अर्याल बिरामी भएर आराम गरिरहेकी छिन् ।

स्रोतका अनुसार एकतर्फी रुपमा भ्रमपूर्ण सूचना प्रवाह गरिएको भन्दै सचिव रघुवीर महासेठले पदाधिकारीहरुसँग असन्तुष्टि जनाएका छन् । कैलालीमा रहेका सचिव भट्टले आफू निकट कार्यकर्ताहरुलाई टेलीफोन गरेर भ्रममा नपर्न भन्दै सचेत गराएका छन् ।

एक पदाधिकारीले भने यो ओलीको पक्षमा उभिएको समूह नभएर तेश्रो समूह भएको जिकिर गरे । ती पदाधिकारीले भने, ‘अब योसँगै एमालेमा तीन गुट भएको बुझ्नुपर्छ । हामीले अध्यक्ष ओलीलाई हामी ७ जना एक ठाउँमा उभिएका छौं भनेर सन्देश पठाएका हौं ।’ उनका अनुसार आगमी महाधिवेशनमा आफ्नो समूहमा ७ जना पदाधिकारी रहेको सन्देश प्रवाह गरिएको हो ।

ती स्रोतका अनुसार तेश्रो समूहलाई वरिष्ठ उपाध्यक्ष सहित महासचिवको दिए आफूहरु ओलीको पक्षमा उभिने सन्देश शुक्रबार यो समूहले पठाएको हो । एक पदाधिकारीले भने, ‘तर त्यस प्रस्तावलाई ओलीको पक्षमा उभिएको भनेर प्रचार गरिएछ । कुरो त्यसो हाइन ।’