काठमाडौँ — केपी शर्मा ओलीरमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुने’ सर्तमा उनीहरूलाई रिहा गर्न लागिएको हो।

भदौ २३ र २४ को घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई चैत १४ मा पक्राउ गरिएको थियो। त्यसयता काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरी प्रहरीले हिरासतमा राख्दै आएको थियो।

बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न आदेश दिएको थियो। अनुसन्धान पूरा नभए हिरासतबाट मुक्त गरेर थप अनुसन्धान गर्न परमादेश जारी गरिएको थियो। सर्वोच्चको आदेशअनुसार थपिएको तेस्रो म्याद बुधबारसम्म मात्रै कायम थियो।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले चैत २५ पछि हिरासतमा नराख्न निर्देशन दिएको थियो। सो अवधिमा अनुसन्धान पूरा गरी मुद्दा चलाउने–नचलाउने निर्णय गर्न, नसकिए कानुनी प्रक्रिया पूरा गरी रिहा गरेर थप अनुसन्धान गर्न आदेश दिइएको थियो।

मन्त्रिपरिषद्ले उक्त घटनाबारे आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। जेन–जी प्रदर्शनका क्रममा बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको घटनामा अनुसन्धान अघि बढाइएको हो। उक्त समयमा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए।

स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरीको नम्बर–२ गणमा राखिएको थियो।