काठमाडौं — बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता प्रभात तामाङ का अनुसार मन्त्रालय संख्या घटाउने निर्णय साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।
प्रदेश सरकारका अनुसार प्रशासनिक संरचना सुदृढ बनाउने र खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने उद्देश्यले यो कदम चालिएको हो। यसअघि गठित उच्चस्तरीय अध्ययन समितिले पनि मन्त्रालय संख्या घटाउन सिफारिस गरेको थियो।
पूर्वसचिव विमल वाग्ले को नेतृत्वमा रहेको ‘प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति’ले मन्त्रालयको संख्या बढ्दै गए पनि कार्यसम्पादनमा अपेक्षित प्रभाव नदेखिएको निष्कर्ष निकालेको थियो।
समितिले मन्त्रालय विस्तार मुख्यतः कार्यभारको आवश्यकता भन्दा दलीय सन्तुलन मिलाउन केन्द्रित रहेको औँल्याउँदै व्यापक पुनर्संरचनाको आवश्यकता औँल्याएको थियो।




















