काठमाडौं—नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को आजका लागि तय गरिएको केन्द्रीय सचिवालय बैठक अचानक स्थगित गरिएको छ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक अब सोमबारका लागि सारिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।

भोलि मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीमा नेताहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको एमालेले जनाएको छ। पार्टीले जेठ ३ गते आफ्ना तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ।

उक्त कार्यक्रमको व्यवस्थापन तथा तयारीलाई प्राथमिकता दिँदै सचिवालय बैठक सोमबार बस्ने गरी सारिएको पार्टी कार्यालयले जनाएको छ।