काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले पत्र पठाउँदै स्वर्णकारको साधारण सदस्यता समेत समाप्त गरिएको जानकारी दिएका हुन् ।
स्वर्णकारविरुद्ध अनुशासन आयोगमा बाराबाट निर्वाचित चार सांसदले उजुरी दिएका थिए । उनीमाथि आर्थिक अनियमितता गरेको, पार्टी संगठन प्रभावकारी रूपमा परिचालन नगरेको तथा विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको आरोप लगाइएको थियो ।
रास्वपाका नेताहरूका अनुसार बारा जिल्ला समिति भंग गरेर नयाँ समिति गठन प्रक्रिया अघि बढाइएको छ । यसका लागि केन्द्रबाट प्रतिनिधि समेत खटाइसकिएको बताइएको छ ।
पार्टीबाट निष्कासित भएपछि स्वर्णकारले भने आफूविरुद्ध “राजनीतिक हत्या” भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत कारबाही पत्र सार्वजनिक गर्दै निर्णयलाई षड्यन्त्रपूर्ण भएको बताएका छन् ।
उनले लेखेका छन्, “मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा छ । तथ्य र प्रमाणलाई बेवास्ता गर्दै निष्पक्ष छानबिन बिना नै मलाई पार्टीबाट हटाइयो ।”
स्वर्णकारले जेठ ९ गते तय गरिएको विस्तारित बैठक र जिल्ला अधिवेशनअघि आफूलाई हटाइनु योजनाबद्ध कदम भएको दाबी गरेका छन् । अधिवेशनमा पुनः जिल्ला सभापतिमा निर्वाचित हुने सम्भावनाबाट त्रसित भएर सांसदहरूको दबाबमा आफूलाई निष्कासन गरिएको उनको आरोप छ ।




















