काठमाडौं — नेपालका तीन महत्वपूर्ण सडक आयोजना स्तरोन्नतिका लागि एसियाली विकास बैंक (एडीबी) बाट करिब ४६ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण तथा अनुदान ल्याउने तयारी भएको छ।
एडीबीको सहयोगमा नारायणगढ–हेटौँडा सडक, मुग्लिङ–आँबुखैरेनी सडक र कर्णाली राजमार्ग सुधार गर्ने योजना अघि बढाइएको हो। यसअन्तर्गत एडीबीले २८ करोड ५० लाख अमेरिकी डलर ऋण र २ करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने तयारी गरेको छ।
नारायणगढ–हेटौँडा सडकलाई चार लेनमा विस्तार गर्ने योजना छ भने मुग्लिङ–आँबुखैरेनी सडक स्तरोन्नतिको प्रक्रिया पनि अघि बढाइएको छ। सडक विभागका अनुसार उक्त सडकको बिड डकुमेन्ट एडीबीको स्वीकृतिका लागि पठाइसकिएको छ। स्वीकृति प्राप्त भएपछि ठेक्का आह्वान गरिनेछ।
यस्तै, कर्णाली राजमार्गको जोखिमयुक्त खण्डमा सडक सुरक्षा सुधार गरिनेछ। पहिलो चरणमा ७३ किलोमिटर सडक चौडा गर्ने, घुम्ती सुधार गर्ने, ब्यारियर जडान गर्ने तथा ढलानलगायतका काम गर्ने योजना छ।
तीनवटै आयोजनाका लागि नेपाल सरकार र एडीबीबीच ऋण तथा अनुदानसम्बन्धी वार्ता सम्पन्न भइसकेको छ। अब आगामी नोभेम्बरमा ऋण सम्झौता गर्ने तयारी रहेको जनाइएको छ। सम्झौता भएपछि सडक विस्तार तथा सुधारका बाँकी प्रक्रिया अघि बढाइनेछ।


