दाङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा बाँके–३ का सांसद खगेन्द्र सुनार पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर दाङबाट फर्किएका छन्।
बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँग जोडिएको धम्कीपूर्ण अश्लील अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिनको निष्कर्ष नआएसम्म उनलाई सांसद तथा पार्टी नेताको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो। त्यसलगत्तै सुनार दाङबाट फर्किएका हुन्।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै सर्वेक्षणका लागि सुनारसहित सांसद नगेन्द्रकुमार गुप्ता र सुष्मा स्वर्णकार (डिम्पल) लाई दाङ खटाएको थियो। आइतबार साँझ तुलसीपुर पुगेको टोलीले पहिलो दिन पश्चिम दाङका चार पालिकामा सर्वेक्षण गरेको थियो।
कार्यतालिकाअनुसार मंगलबार घोराहीलगायत क्षेत्रमा छलफल गर्ने कार्यक्रम थियो। तर सुनार फर्किएपछि अन्य दुई सांसदले बंगलाचुली गाउँपालिकामा पुगेर निर्धारित कार्यक्रमलाई निरन्तरता दिएका छन्।
रास्वपा दाङका सभापति किरण खनालका अनुसार बिहान ९ बजे नै सुनारलाई बिदाइ गरिएको थियो। अन्य कार्यक्रम भने यथावत् राखिएको छ।
विवादित अडियो सार्वजनिक भएपछि रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको अनुशासन आयोगले घटनाबारे छानबिन गर्ने र प्रतिवेदन नआउँदासम्म सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको जनाएका थिए।
यता, सुनारले दाङबाटै भिडियो सार्वजनिक गर्दै विवादित अडियो कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। उनले प्रहरीमार्फत केही व्यक्तिलाई उक्साएर आफूविरुद्ध षड्यन्त्र गरिएको आरोपसमेत लगाएका छन्।
अडियोको वास्तविकता र त्यससँग जोडिएका आरोपबारे भने छानबिनको निष्कर्ष आउन बाँकी छ।


