विराटनगर — पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत धार्मिक प्रशिक्षणमा सहभागी भएको आरोपमा मोरङको सुन्दरहरैंचाबाट २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन्।
सुन्दरहरैंचा नगरपालिका–७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यू कोभेनन्ट कलेज’मा आयोजित धार्मिक प्रशिक्षण तथा कार्यक्रममा सहभागी भइरहेका बेला उनीहरूलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार पर्यटक भिसामा आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसार गर्न नपाउने कानुनी व्यवस्थाविपरीत गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले निगरानी बढाएको थियो।
स्थानीयको उजुरीपछि दुई दिनदेखि निगरानी गरिएको र अनुसन्धानका क्रममा भिसाको उद्देश्यविपरीत धार्मिक गतिविधिमा संलग्न रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको कोइरालाले बताए।
पक्राउ परेका दक्षिण कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए। उनीहरू अक्टोबर १२ सम्म मोरङमा रहने कार्यतालिकासहित नेपाल आएको बताइएको छ।
लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा धर्मशास्त्रको अध्ययन तथा अध्यापन हुँदै आएको छ। उक्त संस्थाले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्दै आएको जनाइएको छ।
पक्राउ परेका २४ जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको छ। उनीहरूलाई विराटनगर विमानस्थल पुर्याइसकिएको र काठमाडौं पठाउन आवश्यक प्रक्रिया पूरा गरिएको विमानस्थल स्रोतले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार अध्यागमन नियमावली, २०५१ को नियम २० को उपनियम (२०) बमोजिम पर्यटक भिसाको दुरुपयोग गरेको देखिएकाले उनीहरूलाई अध्यागमन विभाग पठाइएको हो। उनीहरूमाथि निष्कासन (डिपोर्ट) लगायतका थप कारबाही गर्ने वा नगर्ने निर्णय विभागले गर्नेछ।
मोरङमा विदेशी नागरिकको आवागमन बढेसँगै पर्यटक भिसाको सम्भावित दुरुपयोगसम्बन्धी गतिविधिमाथि प्रशासनले निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अध्यागमन जिल्ला समन्वय समितिले यससम्बन्धी गतिविधिको निगरानी गरिरहेको छ।
यसअघि विराटनगरबाट दुई जना चिनियाँ नागरिकसमेत पक्राउ परेका थिए। उनीहरूलाई पनि अध्यागमन विभागमा बुझाइएको थियो।


