जनकपुरधाम — धनुषाको जनकपुरधाममा साथी–साथीबीचको पुरानो विवादले उग्र रूप लिँदा चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ। यस घटनामा परी अर्का एक युवक गम्भीर घाइते भएका छन्।
ज्यान गुमाउनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोक निवासी २४ वर्षीय आमिन साफी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सोही ठाउँका २२ वर्षीय मोहम्मद इर्साद खानले पुरानो रिसइबीका कारण भएको विवादमा आमिन र २५ वर्षीय इम्तियाज राइनमाथि चक्कु प्रहार गरेका थिए। आपसी भनाभनबाट सुरु भएको विवादले एक्कासि हिंसात्मक रूप लिएपछि खानले साथमा रहेको चक्कु निकालेर उनीहरूमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
छाती, पेट र शरीरका अन्य भागमा चक्कु लागेर गम्भीर घाइते भएका दुवै जनालाई स्थानीय र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो। तर, उपचारकै क्रममा बिहीबार साँझ आमिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।
घटनामा गम्भीर घाइते भएका २५ वर्षीय इम्तियाज राइनको हाल सोही प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर छ र सघन निगरानीमा राखेर उपचार जारी राखिएको छ।
यसैबीच, चक्कु प्रहार गरेलगत्तै फरार हुन खोजेका आरोपी मोहम्मद इर्साद खानलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। प्रवक्ता खनालका अनुसार पक्राउ परेका खानमाथि ज्यानमुद्दा अन्तर्गत म्याद थप गरी घटनाको विस्तृत र सुक्ष्म अनुसन्धान अघि बढाइएको छ। साथीहरूबीच कुन विषयमा पुरानो विवाद थियो भन्नेबारे प्रहरीले आरोपी र घाइतेका आफन्तहरूसँग सोधपुछ गरिरहेको छ।
सामान्य विवाद र पुरानो रिसइबीले यति भयानक आपराधिक घटनाको रूप लिएपछि स्थानीय त्रसित बनेका छन् भने मृतक साफीको परिवारमा गहिरो शोक छाएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको प्रहरीले जनाएको छ।


