✍️ निराेज पाैडेल 

अनेक घेराबन्दीबीच पनि स्थानीय तह चुनावमा नेकपा एमालेले उत्कृष्ट जित हात पारेकाे छ ।प्राविधिक रुपमा दाेस्राे दल बनेपनि राजनीतिक रुपमा एमाले नै पहिलाे बनेकाे छ । जनमतकाे हिसाबले एमाले पहिलाे बनेकाे छ । याे कुरा तथ्यले पनि पुष्टि गरिसकेकाे छ ।एमालेलाई हराउन ५ मात्र हाेइन ६ दलीय गठबन्धन पनि बने । तर सबै मिलेर एमालेलाई सिध्याउने षड्यन्त्र पूरा हुन सकेन । एमालेले जनताकाे लाेकप्रिय मत पायाे । अनेक धाँधली र सेटिङका बीच पनि एमाले दाेस्राे ठूलाे दल बन्याे ।

एमालेलाई सिध्याउँछाैं भनेर कांग्रेसकाे बुइ चढेका दलहरुकाे अस्तित्व स्थानीय चुनावले धरापमा पारिदियाे । स्थानीय तह चुनावले अब पनि नेकपा एमाले र नेपाली कांग्रेस नै मुख्य प्रतिष्पर्धी हुन् भन्ने पुष्टि गर्‍याे । अरु दल एक समूह हुन र ती समूह ओझेल परेकाे प्रष्ट संकेत पनि चुनावी नतिजाले देखायाे ।

स्थानीय चुनावमा एमालेले केही सिट गुमाएकाे पक्कै हाे । तर अपवाद बाहेक धेरै ठाउँमा एमालेले जनताकाे अत्यधिक पाएकाे छ । कतिपय ठाउँमा एमालेलाई एमालेकै विरुद्ध प्रयाेग गरियाे । यस विषयमा पार्टीभित्र गम्भीर छलफल र समीक्षा हुन जरुरी छ ।

स्थनीय तहमा पहिलाे, दाेस्राे र तेस्राे दल काे भयाे भन्नेले त्यति ठूलाे अर्थ राख्दैन । तर एमालेकाे नेतृत्व नभएका पालिकामा जनताले सेवा सुविधा पाउँदैनन् कि, लापरवाही हुन्छ कि,भ्रष्टाचार बढ्छ कि, केन्द्रले पठाएकाे बजेट कार्यान्वयन हुँदैन कि भन्ने डर भने पक्कै हुन्छ । जेहाेस्, स्थानीय तह चुनावकाे गम्भीर समीक्षा गर्दै केही कमजाेरी भएका भए सुधारेर एमालेले प्रदेश र प्रतिनिधि सभा चुनावकाे तयारी गर्न ढिला गर्नुहुँदैन ।

गत वर्ष नेपाली राजनीतिमा कहिल्यै नसाेचेकाे घटना भयाे । प्रधानमन्त्रीको कार्यकारी अधिकारमाथि न्यायालयले नांगाे हस्तक्षेप गर्‍यो । फलस्वरुप जनअनुमाेदित सरकारलाई सर्वाेच्च अदातलकाे परमादेशबाट हटाएर प्रतिगमनकारी झुण्डकाे गठबन्धन सरकार बन्याे । बिडम्बना ! नेपाली राजनीतिक पार्टीमा सबैभन्दा लामो लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी लोकतान्त्रिक दुर्घटनाको उत्प्रेरक बन्यो ।

यसबीचमा अवपवित्र गठबन्धनले एकपछि अर्काे असंवैधानिक काम गर्‍याे । सत्ताकाे दुरुपयाेग गर्दै दल विभाजनकाे अध्यादेश ल्याएर एमाले फुटाउने काम गरियाे । सभामुख अग्निप्रसाद सापकाेटा समेतकाे संलग्नतामा एमालेमाथि प्रहार गर्ने काम भयाे । प्रधानन्यायाधीशमाथि महाअभियाेग लगाइयाे । परमादेशकाे आदेश दिनेमध्ये कसैलाई सरकारी रत्नले सम्मान गरियाे । देशका संवैधानिक अंगहरुकाे प्रयाेग गरेर एमालेमाथि निरन्तर प्रहार गर्ने काम भयाे ।

स्थानीय तहकाे चुनाव सार्ने प्रयास पनि भयाे । एमाले, एमालेका भ्रातृ संगठन,निर्वाचन आयाेग,नागरिक समाज लगायतकाे दबाबमा सरकार स्थानीय तह चुनाव गराउन वाध्य भयाे । स्थानीय तह चुनाव स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित भने बन्न सकेन । सत्ता गठवन्धनले सत्ता र शक्तिको चरम दुरुपयोग गरी चुनावमा गैरराजनीतिक तथा गैकानुनी काम गर्‍याे । एमाले विरुद्ध देशभरका कथित राजनीतिक पार्टीहरुले गठबन्धन बनाए ।

यस्तो प्रतिकुल समय र धाँधलीपुर्ण चुनावमा पनि आम जनताले एमालेप्रतिको विश्वास देखाए । परिणमस्वरुप कुल पालिकामध्ये २ सय ५ नगरपालिका तथा गाउँपालिकामा मेयर तथा अध्यक्ष र २ सय ३९ नगरपालिका तथा गाउँपालिकामा उपमेयर तथा उपाध्यक्षमा एमालेले जित निकाल्यो । २ हजार १ सय २५ वडामा वडाध्यक्ष तथा २ हजार ३ सय ३५ ठाउँमा महिला सदस्य, २ हजार २ सय ८१ स्थानमा दलित महिला सदस्यमा र ४ हजार ६ सय ६४ स्थानमा वडा सदस्यको रुपमा एमालेले जित हासिल गरेको छ ।

यो सब नतिजाको आधार प्रतिकुल समयमा पनि एमाले नेतृत्वको स्पष्ट द‍ृष्टिकोण, प्रतिवद्ध कार्यकर्ताको लगाव र आम जनताको एमालेप्रतिको विश्वास र भरोसाले सम्भव बनाएको हो । त्यसैले त देशभर सम्पूर्ण राजनीतिक शक्ति एकातिर र एमाले मात्र अर्कोतिर हुँदा पनि लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी बन्न पुग्यो । यो नै गठवन्धनका पार्टीहरुलाई नेपाली जनताले दिएको जवाफ हो ।

यसो भन्दै गर्दा हामीले के पनि बिर्सनु हुन्न भने एमालेभित्र पनि केही कुण्ठित र धोकेवाजहरु छद्यभेषमा रहेका रहेछन् । यस्ता पार्टी भित्रका अन्तर्घातीहरुका कारणले पनि केही जित सुनिश्चित जस्तै भएका पालिका पनि एमालेले गुमाउन पुग्यो । स्थानीय चुनावको लागि टिकट वितरणमा भने पार्टी भित्र हावी भएका केही स्वार्थ समूहको दवाव चिर्न नसक्नु पनि पार्टीको कमजोरी हो । यस्ता विषयमा पार्टीको शीर्ष नेतृत्वभन्दा पनि सम्वन्धित क्षेत्रका नेताहरु बढी सजग बन्नु पर्ने देखिन्छ किनकि प्रभावमा पार्न सक्ने त्यस्ता स्वार्थ समूहहरुको पृष्ठभूमिबारे त्यसै क्षेत्रका नेता कार्यकर्ता बढी जानकार हुन्छन् ।

त्यसो त लोकतान्त्रिक राजनीतिक पार्टीको यात्रामा चुनाव र जितहार स्वभाविक हुन् । अहिलेको चुनावी नतिजा एमालेको राजनीतिक यात्रामा एउटा गतिलो शिक्षा र भविष्यको लागि ठूलो आधार पनि बनेको छ । अस्थिर सोच भएका राजनीतिक नेतृत्वसँगको सहकार्य नतिजामुखी हुन नसक्ने र त्यसको ठूलो मूल्य आम जनता र देशले नै चुकाउनुपर्ने हुनाले यसमा सचेत हुनुपर्ने शिक्षा पनि पार्टी लिनुपर्छ ।

नेतृत्व र एजेण्डा सही भएको राजनीतिक दललाई आम जनताले विश्वास गर्छन भन्ने कुरा अहिलेको नतिजाले देखाएको छ भने चुनावको समयमा हुनसक्ने सत्ताको दुरुपयोग रोक्न निर्वाचन आयोग लगायत अन्य संस्थालाई सशक्त, जिम्मेवारपुर्ण र पारदर्शी बनाउने पर्ने वोध पनि अझ गहिरो ढंगले भएको छ ।

अबकाे बाटाे

‘समृद्ध नेपाल सुखी नेपाली’ नीति कार्यान्वयनमा स्पष्ट दृष्टिकोण, लोकतान्त्रिक चरित्र र राजनीतिक विरासत बोकेको एमाले जस्तो अर्को पार्टी नेपालमा छैनन् । आन्तरिक तथा बाह्य स्वार्थ समूहको षड्यन्त्रमा बेला-मौकामा देखापर्ने पानीका फोका जस्ता वा वर्षयामका खहरे जस्ता उग्र वामपन्थी राजनीति दलहरु बेलामौकामा नदेखिने होइनन् । यस्ता पार्टीहरु एमालेको विकल्प वा प्रतिष्पर्धी पार्टी हुनै सक्दैन ।

इतिहासमा सीमित भइसकेका केही दक्षिणपन्थी राजनीतिक पाटीहरु पनि एमालेको प्रतिष्पर्धी हुन सक्दैन । यस तथ्यले श्रद्धेय एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएजस्तै नेपाली राजनीतिले द्विपक्षीय पार्टी पद्धतिको औचित्य स्थापित भएको प्रष्ट हुन्छ । अर्थात अबका प्रतिष्पर्धी एमाले र कांग्रेस मात्रै हुन् ।

कुनै पनि राजनीतिक सिद्धान्त, दर्शन, कार्यनीति तथा रणनीति केही पनि नमिल्ने पार्टीहरुको अपवित्र गठवन्धन हालै सम्पन्न भएको स्थानीय निर्वाचनको नतिजाले हौसिएको देखिन्छ । सत्ता स्वार्थको हिस्सा बाँडफाँटको स्वार्थले टिकेको यो गठवन्धन प्रादेशिक र संघीय चुनावसम्म नै लैजाने भन्ने आवाजहरु सुनिन थालेका छन् । त्यसो त राज्य स्राेतको दोहन नै राजनीतिको मुख्य उद्देश्य ठान्नेहरुका लागि स्वार्थजडित गठवन्धन स्वभाविक नै होला । तर स्वार्थ बाँडफाँटमा कुनै तलमाथि हुने बित्तिकै यो गठवन्धन टुट्ने ठोकुवा गर्न कुनै राजनीतिक विश्लेषक हुनु नपर्ने कुरा पनि यथार्थ हो ।

र अन्त्यमा, नेकपा एमालेको राजनीतिको लक्ष्य नेपाल र नेपाली भन्दा अरु केही छैन् । केही वर्ष अघिसम्म दोधारे नीतिको आरोप खेप्ने एमालेले केपी शर्मा ओलीको नेतृत्व पाएसँगै स्पष्ट कार्यदिशासहितको कुशल नेतृत्व पाएको छ । अध्यक्ष ओलीकै कुशल नेतृत्वको कारण ०६४ सालमा जम्मा २०.३ प्रतिशत लोकप्रिय मत पाएको एमालेले ०७० सालको चुनावमा २३.६ प्रतिशत र ०७४ को चुनावमा ३३.३ प्रतिशत लोकप्रय मतसहित सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित भयो ।

देश विकासको स्पष्ट द‍ृष्टिकोण, सन्तुलित र स्वाभिमानी विदेश नीति, स्वप्नदर्शी तथा दुरदर्शी कार्ययोजना, सुशासन र भ्रष्टाचारप्रति शुन्यसहनशिल नीति तथा व्यवहार आदिले एमालेलाई नेपाली राजनीतिको निर्विकल्प शक्तिको रुपमा स्थापित गरेको छ । अब आउने प्रादेशिक तथा संघीय चुनावमा एमालेले आफूलाई स्पष्ट बहुमतसहितको पहिलो पार्टी बन्ने त सुनिश्चित जस्तै छ यसका लागि स्पष्ट दृष्टिकोण त एमालेको छँदैछ । सत्ताको दुरुपयोगलाई रोक्न भने आम जनतासहित एमालेका नेता-कार्यकर्ता भने हुनैपर्छ ।

(लेखक राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुनुहुन्छ)