विराटचोक ,२७ मंसिर । मोरङको बेलबारीमा ९ महिना अघि स्थापना गरिएको कोशी प्रदेश प्रहरी अस्पताल अपहरण शैलीमा सुनसरीको इनरुवा सारिएकोप्रति नगरपालिका र स्थानीय राजनीतिक दलहरुले आपत्ती प्रकट गरेका छन् ।
मंसिर २६ गते मध्यरातमा प्रहरी अस्पताल बेलबारीबाट इनरुवा सारिएको प्रति बेलबारीमा रहेका ६ राजनीतिक दलहरुले स्थानीय सरकारको मानमर्दन हुनेगरि प्रहरी अस्पताल सारिएको भन्दै आपत्ती जनाएका हुन् ।
उनीहरुले बेलबारीमा रहेको प्रहरी अस्पताल जिल्ला समन्वय समितिमा अनाधिकृत रुपमा सारिएको भन्दै छापामार शैलीमा स्थानान्तरण गरिएको अस्पताल पुन सोही ठाउँमा स्थापना गर्न माग गरेका छन ।
नेपाली कांग्रेसका सभापति छत्र लिम्वु, नेकपा एमालेका अध्यक्ष असोक गुरुङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष परशुराम सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष कुमार खुलाल, जनता समाजवादी पार्टीका अध्यक्ष तिलक साम्पाङ राई र नेकपा एकिकृत समाजवादीका अध्यक्ष भूपाल वस्नेतले संयुक्त विज्ञप्ति जारी गर्दे मध्यरातमा अपहरण शैलीमा अस्पताल सारिएको प्रति खेद व्यक्त गरेका छन् ।
मध्यरातमा प्रहरी अस्पताल बेलबारीबाट इनरुवा सारिएको प्रति लबारी नगरपालिकाले पनि आफ्नो गंभिर ध्यानाकर्षण भएको बताएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै अस्पताल सार्ने निर्णय सच्याउन माग गरेको छ ।
गत वर्षको फागुन १० गते नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले १५ बेड क्षमताको अस्पताल उद्घाटन गर्नुभएको थियो ।
अस्पताललाई व्यवस्थित गर्ने नगरपालिकाको तयारी भईरहेका समयमा अस्पताल एकाएक विना जानकारी बेलबारीबाट इनरुवा सारिएकोप्रति नगरपालिकाले खेद व्यक्त गरेको उपप्रमुख नितु थापाले बताउनुभयो । कोशी प्रदेश प्रहरी अस्पताललाई व्यवस्थित गर्नका लागि चिकित्सकको आवास व्यवस्थापन, रङरोगन, इन्धन लगायतका सामग्री, एसीको प्रवन्ध गरिएको उहाँले बताउनुभयो । उपप्रमुख थापाका अनुसार चालु आर्थिक वर्षमा प्रदेश प्रहरी अस्पताल व्यवस्थापनका लागि भनेर १० लाख विनियोजन गरिएको थियो ।
बेलबारी ४ बुधबारेमा मा १० करोड ५९ लाखको लागतमा निर्माणाधिन अस्पताल भवन प्रहरी अस्पताललाई हस्तान्तरण गर्ने समेत नगरपालिकाले योजना बनाईरहेको समयमा नगरपालिकाले आवस्यक सहयोग नगरेको भन्ने भ्रम फैलाईएको उपप्रमुख थापाको भनाई छ । उहाँले भन्नुभयो‘ नगर अस्पतालको भवनबाट प्रहरी अस्पताल सञ्चालनको तयारी भईरहेको समयमा नगरपालिकालाई जानकारी नगराई रातारात सारिनु दुःखत हो ।’
प्रहरी अस्पतालबाट दैनिक २५ जना बढीले स्वास्थ्य सेवा लिईरहेको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी अस्पतालको सेवा प्रभावकारी रहेको थियो ।





















