बिराटनगर– जाडोमा जनता कठ्याङ्ग्रीनु नपरोस् भनी कोशी प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता जीवन आचार्यले गत महिना मोरङ बुढीगंगाका विभिन्न स्थानमा न्यानो बितरण गरे। न्यानो अर्थात् कम्बल बितरण गरे।
कसैको प्रायोजनमा नभई प्रदेश सभा सदस्यका रुपमा आफूले पाउने तलब भत्ताबाट उनले उक्त न्यानो बितरण गरेका हुन्। जसले जनताको आँतमा केही राहतसम्म मिलेको थियो।
कोशी प्रदेश सभामा मोरङ–६ ‘क’बाट निर्वाचित भएका आचार्य निरन्तर जनजीविकाका सवालमा गम्भिर बन्छन्। ‘हामीले सक्नेसम्मको समय जनताका हितका निम्ति नै खर्च गर्नुपर्छ’, आचार्य भन्छन्,‘त्यसका लागि आफूले कतिसम्म गर्न सकिन्छ भन्ने विषयको आँकलन र भाग लगाउन सकिन्छ।’
माओवादी केन्द्रको राजनीतिमा उनको उदयलाई लिएर भएका सबै टिकाटिप्पणी फिक्का हुनेगरी गति समातेका छन्। अनि, जनताको सेवाभावको लयमा निरन्तर हिँडिरहेका आचार्य कोशी प्रदेशमा केही समय मन्त्री बने। मन्त्री भए पनि निर्वाचन क्षेत्र र जिल्लामा उनको सेवा भावको निरन्तरतामा कुनै कमी भएन। स्थानीय जनता उनको भूमिकासँग हर्षित छन्। आचार्यले निर्वाचन क्षेत्रमा विद्युतदेखिका अनेक समस्या समाधानका निम्ति अग्रसरता देखाएका थिए।
‘जनताको सेवा भाव नै राजनीतिको मूल मन्त्र बन्नुपर्छ। निर्वाचन आउँछन् जान्छन्। जनताले त्यसमा दिएको साथ भनेको जनताको उन्नयनका लागि नै हो’, आचार्य भन्छन्,‘पदमा हुँदा गर्न सकिने काम गर्नुपर्छ। तर त्यो अस्थायी हो। स्थायी त जनसेवा नै हो।’
कोशी प्रदेशका माओवादी पदाधिकारी कतिपय विभिन्न विवादमा आएका बेला आचार्यले देखाएको भूमिकाले माओवादीको ओजलाई बलियो बनाएको छ। अझ मोरङ जिल्लामा त झनै प्रभावी राजनीतिक स्थितिका लागि आचार्यको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने नेताहरू बताउँछन्।




















