धरान– सामाजिक सञ्जालमार्फत उग्र रुपमा राजनीतिक दललक्षित कटाक्ष गरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध नौ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरेका छन्। 

साम्पाङ राजनीतिक दलमाथि एक्लै भारी हुन थालेपछि सचेत विज्ञप्ति जारी गरिएको हो।

आफू अनुकूलको विचार व्यक्त नगर्नेहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएको र ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको घट्नाप्रति आपत्ति जनाउँदै धरानका ९ वटा राजनीतिक दलहरूले विज्ञप्ति जारी गरेका हुन्। 

‘अरुले धारणा राख्दा कार्यकक्षमा बोलाएर धरान छाड्न चेतावनी दिने काम गलत हो, सचेत गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

जातीय, धार्मिक तथा सांस्कृतिक एकता खलल पुग्ने गरी साम्पाङले दिएका अभिव्यक्तिले सामाज विभाजित बनाउन प्रेरित गरेको विज्ञप्तिमा उल्लेख छ। 

संयुक्त वक्तव्यमा नेपाली काँग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका कावा अध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, रास्वपाका सभापति सुमन श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टी धरान इन्चार्ज देउमान मेन्याङबो, राप्रपा नेपालका संयोजक नरेश शाक्य, सलोराम लिम्बुवानका अध्यक्ष मोहन तिगेलाले हस्ताक्षर गरेका छन्।