काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी माथि गरिएको आक्रमणको एमाले निकट अनेरास्ववियुले विरोध जनाएको छ ।
अधिकारी माथि आइतबार गरिएको सांघातिक हमला प्रति अनेरास्ववियु केन्द्रीय कमिटीले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो । ‘आफ्नो नियमित कामको सन्दर्भमा आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा उपाध्यक्ष अधिकारीमाथि कालो मोसो दल्ने र शारीरिक हमला जस्तो अनैतिक, अराजनीतिक तथा आपराधिक घटना प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, अनेरास्ववियुका अध्यक्ष समिक बडालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस किसिमका आपराधिक गिरोहलाई जुनसुकै आवरणमा रहेका भए पनि अविलम्ब गिरफ्तार गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्न अनेरास्ववियुले सरकारसँग माग गरेको छ । यस्ता गतिविधि विरुद्ध अनेरास्ववियुले सशक्त प्रतिवाद गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट निकट विद्यार्थी संगठनका विद्यार्थीले उपाध्यक्ष अधिकारीलाई मोसो दलेर दुर्व्यवहार गरेका थिए । अधिकारीकै कार्यकक्षमा प्रवेश गरी उनीहरूले बिहान ११ बजेतिर मोसो दलेका थिए ।
.jpg)


