- रेवती निरौला
विराटचोक - सामाजिक सेवामा समर्पित युवाहरुको समूह दारी ग्याङले मोरङको एक पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेको छ । दारी ग्याङको आठौं वर्षिकोत्सवको अवसरमा सुनसरी र मोरङमा क्रियाशील दारी ग्याङका युवाहरुले सुन्दरहैंचा १२ स्थित मोरङ सामुदायीक पुस्तकालय तथा श्रोत केन्द्रलाई ३८ थान पुस्तक प्रदान गरेका हुन् । पुस्तकालय मोरङको सुन्दरहरैंचामा भर्खरै स्थापना गरिएको थियो ।
दारी ग्याङ सुन्दरहरैंचा, लेटाङ, पथरीशनिश्चरे, बेलबारी र इटहरीमा आवद्ध युवाहरुले आफुसँग भएका पुस्तकहरु संकलन गरेर पुस्तकालयलाई प्रदान गरिएको दारी ग्याङका केन्द्रीय सदस्य विपुल पोखरेलले जानकारी दिए ।
सो अवसरमा बोल्दै केन्द्रीय सदस्य पोखरेलले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको अवस्थामा स्थापना गरिएको पुस्तकालयलाई प्रोत्सहान स्वरुप पुस्तक सहयोग गरेको बताए । तत्काललाई दारी ग्याङका सदस्यहरुबाट पुस्तक संकलन गरि हस्तान्तरण गरिएकोमा आगामी दिनमा थप सहयोग गर्दै जाने उनको भनाइ छ ।
सो अवसरमा दारी ग्याङमा आवद्ध युवाहरुले पुस्तकालयले सहयोगार्थ राखिएको दान पेटिकामा आर्थिक सहयोग समेत गरेका छन् । दारी ग्याङ सुन्दरहरैंचाका अध्यक्ष केशव वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा दारी ग्याङका केन्द्रीय सदस्य विपुल पोखरेल, इटहरी संयोजक विनोद नेपाल, पथरीशनिश्चरे संयोजक अमन महर, पुस्तकालयका अध्यक्ष लगायतका पदाधिकारीहरु, दारी ग्याङका सदस्य युवाहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
दारी पाल्न रुचाउने तथा सामाजिक भावनाबाट ओतप्रोत भएका युवाहरुको फेसबुक ग्रुपको रुपमा दारी ग्याङ सामाजिक सञ्जालमा निकै लोकप्रिय छ । ८ वर्षअघि स्थापना गरिएको दारी ग्याङमा हाल देशभरबाट १ लाभ बढी सदस्य छन् । दारी ग्याङले विभिन्न सामजिक कामका साथै आपत्मा परेका विरामीहरुलाई रगत उपलब्ध गराउने जस्ता काममा विशेष सहयोग गर्ने गरेको छ ।




















