विराटचोक-  मोरङ पथरीशनिश्चरे–७ की १५ वर्षीया वालिका    ज्ञानमति थुलुङ राई (सन्जना) को हत्यामा संलग्न धिरेनकुमार खाँ चौधरीले अर्कैलाई भनेर खुकुरी हानेको तर झुक्किएर ज्ञानमतिलाइ लागेको बयान दिएका छन् ।

ज्ञानमतिको हत्या आरोपमा पक्राउ परेका मोरङको ग्रामथान गाउँपालिका घर भइ बाराको जितपुर सिमरा बस्ने ३८ वर्षीय  चौधरीले भाउजुलाई प्रहार गरेको खुकुरी ज्ञानमतीलाई लागेको बयान दिएका हुन्  ।

ज्ञानमतिलाइ दाजुभाउजूले कुटपिट गर्ने र विवाहमा अबरोध गरेको थाहा पाएपछि  चौधरीले दाजु भाउजूमध्ये एकको हत्या गर्ने योजना बनाएको तर घटना अर्कै भएको प्रहरीलाई बताएका हुन् ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी  ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित आफन्त विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् । ज्ञानमतिको हत्या भएपछि पक्राउ परेका प्रेमी भनिएका चौधरीले यसअघि परिवारले विवाह नगरिदिने भएपछि युवतीको हत्या गरेको प्रहरीको प्रारम्भिक  अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धान गर्दै जाने क्रममा चौधरीले मृतक राईको नभएर उनकी भाउजुको हत्या गर्ने योजना बनाएको बताएको प्रहरीले जनाएको छ ।

‘बाराबाट पथरीमा उत्रिएपछि दिउँसो ३ बजेसम्म चौधरी पथरीमा बसेको देखिएको छ । त्यहाँबाट बिर्तामोड पुगेर एक दिन बसेपछि सोमबार दिउँसो ३ बजे पथरी आएको र दिनभरी पथरीमा बसेर राति कर्तब्य गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘भाउजुलाई भनेर सोमबार राति १० बजेर १० मिनेटमा धारिलो हतियार खुकुरी प्रहार गरेको देखिएको छ ।’ हत्यापछि फरार रहेका चौधरीलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट प्रहरीले सोमबार राति पक्राउ गरेको थियो ।

प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि शनिबार बरामद गरेको छ । घटनास्थलदेखि करिब चार मय मिटर पूर्व खोलाको लेदोबाट खुकुरी बरामद गरिएको थियो  । अभियुक्तले नै खुकुरी फालेको घटनास्थल देखाएका थिए ।

 इलाका प्रहरी कार्यालय पथरीले चौधरीलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

चौधरी र राई ढेड वर्षदेखि प्रेममा रहेको प्रहरीले जनाएको छ । चौधरी विवाहित हुन् । उनकी श्रीमति चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा छिन् ।श्रीमतिसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत उनको किशोरीसँग चिनजान भएको र नजिकिएको प्रहरीले जनाएको छ ।