आगलागीबाट ज्यान गुमाएका भोजपुरको हतुवागढी गाउँपालिका–७ पिप्लेमा तीन बालबालिकाका परिवारलाई कोशी प्रदेश सरकारले मंगलबार एक लाखका दरले राहत उपलब्ध गराएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगलागीबाट मानवीय क्षति भएका कार्की परिवारको घरैमा पुगेर मंगलबार प्रति परिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराइएको राहत रकम उनले परिवारलाई हस्तान्तरण गरेका हुन् ।
गत शनिबार साँझ भएको आगलागीमा परी रमेश कार्कीका ५ वर्षिया छोरी दिप्सिका कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनिष कार्कीको जलेर ज्यान गएको थियो ।
राहत रकम हस्तान्तरण कार्यक्रममा भोजपुरका प्रदेश सभा सदस्यहरु विनोद बान्तवा राई, सिर्जना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललगायतको उपस्थितिे थियो ।




















