सुनसरी  — इटहरीका समाजसेवी  बीरबहादुर लिम्बूको निधन भएको छ । लिम्बूको बुधबार दिउँसो उनको ७२ वर्षको उमेरमा निधन भएको हो । प्रतिष्ठित व्यक्ति लिम्बूको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनका छोरा अजय लिम्बूका अनुसार दिउँसो १ बजे हृदयघात भएपछि उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको अजयले जानकारी दिए  ।

 इटहरी २ निवासी लिम्बू इटहरीका प्रतिष्ठित व्यक्ति मात्र नभै नेकपा एमालेका प्रभावशाली नेतासमेत रहेका थिए ।

गत शनिबार भएको इटहरी खानेपानीको निर्वाचनमा इटहरी २ बाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका लिम्बू इटहरी २० तरहरास्थित शान्ति जनकल्याण सहकारी संस्थाका अध्यक्षसमेत थिए । अघिल्लो वर्ष भएको सहकारीको निर्वाचनमा उनी विजयी भएका थिए ।

सहकारीका उपाध्यक्ष चिन्तामणि सापकोटाका अनुसार लिम्बू शालीन र प्रभावशाली थिए । उनको व्यक्तित्व कुशल रहेको र आफूहरूले अप्रत्याशित रूपमा गुमाउनुपर्दा दुःखी भएको सापकोटाले बताए । ‘उहाँ असल र सरल हुनुहुन्थ्यो,’ उनले भने, ‘समाजकै प्रतिष्ठित व्यक्तिलाई गुमाउनुपर्दा हामीलाई ठूलो क्षति भएको छ ।’